काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्तिपूर्ण र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने व्यवस्था मिलाउन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। मंगलबार सशस्त्र प्रहरी हेडक्वाटर हल्चोकमा सुरक्षाकर्मीलाई निर्देशन दिँदै अर्यालले उक्त कुरा बताएका हुन्।
आईजीपी अर्यालले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसासमेत गरे। निर्वाचनमा खटिएका सुरक्षाकर्मीको बन्दोवस्ती एवं रासन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रणलगायत जिम्मेवारीका क्षेत्रमा परिचालित भई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोलीसमेत परिचालन गरिएको उनले बताए।
निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा, आचारणसंहिता र पदीय आचरणमा रहि अनुशासन, इमान्दारी र लगनशील भई कार्यक्षेत्रमा परिचालन हुन पनि अर्यालले निर्देशन दिए।
सशस्त्र प्रहरी कर्मचारीले आफूले गरेका गतिविधिलाई सामाजिक सञ्जालमा सेयर तथा पोष्ट गर्न नहुने कुरासमेत बताए ।
कमाण्डर तहका अधिकृतहरुले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिँदै अर्यालले भने, ‘चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ।’
सशस्त्रले एसएसपी र एसपीको नेतृत्वमा वैशाख २५ गते सबै प्रदेशमा एक/एक टोली परिचालन गरी अनुगमनको कामसमेत सुरु गरिएको छ।
एसएसपी कमलप्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत प्रदेश १ , उद्धवबहादुर न्यौपाने मधेस प्रदेश, राजेन्द्र खड्का सुदूपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेशमा खटिएका छन्। त्यसैगरी, एसपी टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युतकुमार मजगैयाँ कर्णाली प्रदेशमा खटिएक छन्।
सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिहरुसँग समन्वय गरी निर्वाचनमा परिचालित सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा आउने समस्या तथा चुनौतीहरुलाई पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरी फिर्ता हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।