काठमाडौं–गृहमन्त्री बालकृष्ण खाणले सत्यतथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन्। आइतबार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि मन्त्री खाणले सत्य तथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पु¥याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सबल हुनुपर्ने बताए।
नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिकलगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो। अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ बढी प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताए।
‘विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक र प्रविधिबारे के–कस्ता नयाँ सूचना के आएका छन्। त्यसको प्रभाव के पर्छ भन्नेबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,’ मन्त्री खाणले भने, ‘यसबारे बेलैमा सत्य, तथ्य सूचना अनुसन्धान विभागले राज्यलाई दिइरहेको छ। आगामी दिनमा अझ प्रभावकारी सूचना दिने विश्वासमा सरकार छ।’

अनुसन्धान विभाग कमजोर भए मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र त्यसले समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणको भनाइ छ। लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुनु स्वाभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुने पनि उनले बताए।
मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रहेको बताउँदै गृहमन्त्री खाणले निर्वाचनलाई स–साना घटनाले प्रभाव पार्ने उल्लेख गरे। घटना हुनसक्ने पूर्वानुमान र घटना भइहालेमा समयमै सूचना प्राप्त भए तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै उनले त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताए।
गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढेको भन्दै त्यसलाई तत्काल समाधान गर्न सत्य तथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए। उनले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर संकलन गर्ने संयन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गरे।
गृहमन्त्री खाण र गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौती र सरकारले गर्नुपर्ने कामबारे जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।