तस्बिर साभार : हिमालखबर
काठमाडौँ-चर्चित भारतीय पत्रकार रवीश कुमारले आवधिक चुनावमा मतदान गर्नुभन्दा पहिले नागरिकहरुले श्रमदान गर्नु पर्ने बताएका छन्। हिमाल मिडियाद्वारा शनिबार आयोजित 'हिमाल मिडिया मेला २०२२' मा प्रमुख वक्ताको रुपमा बोल्दै वरिष्ठ पत्रकार रवीश कुमारले लोकतन्त्रमा नागरिकले हरेक दिन मेहनत गर्नु पर्ने बताए।
‘मतदान सबैभन्दा कम शारीरिक श्रम पर्ने काम हो, तर लोकतान्त्रिक संस्थाको निर्माण गर्न धेरै मेहनत गर्नु पर्छ,‘ उनले भने।
सन् २०१९ मा प्रतिष्ठित रामोन म्यागसेसे पुरस्कार विजेता रवीश कुमारले मिडियाको काम जनमत निर्माण गर्नु भएको जनाए। 'सूचनाको विश्वसनीयता सर्वोच्च कुरा हो, तर अहिले (भारतमा) 'गोदी मिडिया' ले जनमत हैन 'जड मत' बनाउने काम गरिरहेको छ,' उनले भने।
प्रधानमन्त्री नरेन्द्र मोदीको गुणगान मात्रै गाउने र सरकारको कुनै पनि काममाथि प्रश्न नउठाउने सञ्चार माध्यमलाई भारतमा 'गोदी मिडिया' भन्ने गरिएको छ।
पत्रकारिताले जनताको पक्ष लिनु पर्ने जनाउँदै रवीश कुमारले, उनकै शब्दमा, गोदी मिडिया जनताको विपक्षमा भएको बताए।
'अहिले (भारतमा) मिडियाले सरकारको 'फ्रन्ट' को रुपमा काम गरिरहेको छ। नागरिकले पनि जनताको रुपमा हैन, याचकको रुपमा याचना गर्न लागेका छन्,' उनले भने।
‘पत्रकार अब कुम्हाले बन्नु पर्छ। गिलो माटोले आफ्नो हात भिजाउनु पर्छ। नचिकेता बनेर यमराजसँग प्रश्न गर्नु पर्छ,' उनले भने।

प्रेस स्वतन्त्रतामा नेपालले प्रगति गरेको भन्दै उनले बधाइ पनि दिए। 'स्वतन्त्रता जोगाउन सतर्कता जरुरी छ,' उनले भने।
कार्यक्रमको अन्तिम सत्रमा हिमालखबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितसँगको संवादमा वरिष्ठ पत्रकार कुमारले भारत सरकारको आलोचना गर्दा आफूविरुद्ध संगठित रुपमा 'ट्रोल' गर्ने गरिएको बताए।
भारतमा प्रश्न गर्ने पत्रकार र मिडिया घटिरहेको बताउँदै उनले त्यो हावा नेपालमा पनि आउनसक्ने बताए। 'नेपाल र भारत सीमाले फरक होलान, तर हावा फरक छैन। संस्कार, संस्कृति सबै उस्तै छन् छ। नेपाल पनि त्यसबाट प्रभावित हुनसक्छ,' उनले भने।
कार्यक्रममा वरिष्ठ पत्रकार कुन्द दीक्षितले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्र किशोरले रवीश कुमारको परिचय दिएका थिए। मिडिया मेलाका विभिन्न सत्रमा पत्रकारिताको अर्थ-राजनीति, नैतिक र जवाफदेही पत्रकारिता, मिथ्या समाचारलगायतका विषयमा छलफल गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।