काठमाडौ- स्थानीय तहका लागि आगामी वैशाख ३० मा हुने निर्वाचनको मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।
विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
केही दिन यता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइने भनेर समाचार प्रकाशित भइरहेका छन्।
तर, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने यस बारेमा हालसम्म मन्त्रालयबाट कुनै पनि निर्णय नभएको बताए।सहप्रवक्ता अधिकारीले मत हाल्ने दिन सबैको ध्यान मतदानमा हुने र मतदान केन्द्रमा खोप लगाउने व्यवस्थाका लागि धेरै व्यवस्थापन गर्नुपर्ने भएकोले त्यो सम्भव नदेखिएको बताए।
मन्त्रालयले चुनावलाई मध्यनजर गरेर त्यसभन्दा अगाडि सबै व्यक्तिहरुलाई खोप लगाउन कसरी सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरिरहको सहप्रवक्ता अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।