काठमाडौं– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शान्तिसुरक्षा चुस्त राख्न नेपाली सेनाले शुक्रबारदेखि गस्ती सुरु गरेको छ।
सुरक्षाका लागि नेपाली सेनाले सर्लाहीका सडक तथा बजारमा गस्ती बढाएको हो। जिल्लाका अन्य सुरक्षा निकाय झै नेपाली सेनाले पनि चुनावी सुरक्षा योजना बनाएर गस्ती सुरु गरेको लालबन्दी नगरपालिका–२ नवलपुर पाँचकुमारीस्थित भैरवी दल गणका गणपति एवं प्रमुख सेनानी अभिषेक कार्कीले बताए। उनका अनुसार निर्वाचनमा मतदानस्थलको सुरक्षालगायत समग्र सुरक्षा व्यवस्थाअन्तर्गत नेपाल प्रहरी पहिलो, सशस्त्र प्रहरी दोस्रो र नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने निर्णय भए बमोजिम सेना गस्तीमा निस्केको हो।
देशभरमै सबैभन्दा धेरै २० स्थानीय तह रहेको जिल्लामा ५९९ मतदानस्थल रहेका छन्। तीमध्ये सुरक्षाका दृष्टिकोणले १०३ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।