बैतडी- बैतडीमा कोदालोले हिर्काउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका-७ मनकुडाका अन्दाजी २७ वर्षीय श्यामबहादुर ऐरको मृत्यु भएको हो।
सोही ठाउँका २९ वर्षीय वीरसिंह ऐरले खानेपानीको विषयमा विवाद हुँदा श्यामबहादुरलाई कोदालोले हिर्काएको स्थानीय एवं नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले बताए।
वीरसिंह ऐरले कोदालाले हिर्काउँदा श्यामबहादुरको छातीमा गम्भीर चोट लागेर मृत्यु भएको उनले बताए। शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाँदै गरिएको ऐरले बताए।
कोदालोले हिर्काउने वीरसिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। दुवैजना छिमेकी रहेका र खानेपानीको विषयमा विवाद हुँदा शुक्रबार दिउँसो घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।