काठमाडौं– सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक पदको बढुवामा चलखेल भएको छ। दुई पद रिक्त हुँदासमेत एक जनाको मात्रै बढुवा गरेर एक पद खालि राखिएको छ।
वैशाख १६ गते तत्कालीन महानिरीक्षक पुष्पराम केसीले वैशाख १९ गते रिक्त हुने एआईजी पदमा बढुवाका लागि केही आवेदन माग गरेका थिए। बढुवा सिफारिस समितिको सदस्य सचिव समेत रहेका केसीले रिक्त हुने एआईजीपीको संख्या नतोकी ‘केही पद’मा बढुवाका लागि भनि आवेदन माग गरेका थिए।
सशस्त्र प्रहरीमा दुई वटा एआईजीको दरबन्दी छ। वैशाख १९ गतेसम्म राजु अर्याल र रामशरण पौडेल एआईजी थिए। पौडले र तत्कालीन आईजीपी केसी ३० वर्षे सेवा अवधिका कारण वैशाख १९ गते अनिवार्य अवकाशमा गए।
त्यसपछि एआईजी अर्याल आईजीपीमा बढुवा भएका थिए। सोसँगै अर्याल र पौडेलेको ठाउँमा गरी दुई एआईजी पद सशस्त्रमा रिक्त थियो। तर चलखेलकै कारण एक पद रिक्त नै राखेर एक जनालाई मात्रै बढुवा गरिएको छ।
जबकी बढुवाका लागि चार जना डीआईजीपीले फारम भरेका थिए। नारायणदत्त पौडेल, चन्द्रप्रकाश (सीपी) गौतम, वंशीधर दाहाल र किशोर प्रधानले बढुवाका लागि फारम भरेका थिए।
उनीहरु मध्ये पौडेललाई मात्रै वैशाख २१ गते बढुवा गरेर एक पद रिक्त राखिएको छ। एक पद रिक्त राखेर एक जनाको मात्रै बढुवा गरिएपछि आवेदन दिएका डीआईजीहरु असन्तुष्ट बनेका छन्।
एक डीआईजीले भने, ‘किन एक जनाको मात्रै बढुवा गरियो भन्ने यकिन त थाहा भएन। तर पद रिक्त राखेर एक जनालाई मात्रै बढुवा गर्दा हामी अन्यायमा परेका छौं।’
२०५४ चैत १८ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका अर्याल चार वर्षे पदावधिका कारण २०८३ वैशाख १८ गते अवकाशमा गएका छन्। अहिलेकै अवस्था तलमाथि नभएको खण्डमा भर्खरै बढुवा भएका पौडेलले झण्डै दुई वर्ष २०८४ चैत १८ गतेसम्म आईजीपीको कमाण्ड सम्हाल्ने अवस्था आउँछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।