काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको हो।
प्राधिकरणले देशभित्र खपत गरी जगेडा भएकमो विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ।
भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत् विद्युत व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरु, विद्युत वितरण कम्पनीहरुलगायतले विद्युत खरिदका लागि प्रतिस्पर्धामा सहभागी हुन पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं। त्यसमध्ये २०० मेगावाट प्रतिस्पर्धामार्फत् जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं’, कार्यकारी निर्देशक घिसिङले भने, ‘बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्ने छौं। टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरुलाई विद्युत उपलब्ध गराइने छ।’
नेपालबाट विद्युत खरिद गर्न इच्छुक कम्पनीहरुले आगामी १३ जेठ मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेस गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। ईच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेस गर्न नसक्ने व्यवस्था गरिएको छ। कम्पनीहरुले आफूले प्रस्ताव गरेको परिमाणको प्रतिमेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नु पर्ने छ।
हाल देश भित्र विद्युतको माग उच्च भएका कारण ठूला उद्योगहरुमा 'लोड शेडिंग' गरिरहेको प्राधिकरणले वर्ष यामका लागि भने विद्युत बिक्री गर्न टेन्डर खोलेको हो।
गत वर्ष वर्षा याममा झन्डै ५०० मेगावाट विद्युत 'सरप्लस' (राष्ट्रिय अवश्यकता भन्दा बढी) रहेको प्राधिकरणका एक अधिकारीले बताए।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत् निर्यात हुने छ।
नेपालले प्राधिकरणको स्वामित्वका त्रिशुली, देवीघाट, कालीगण्डकी ‘ए’, मध्य मर्स्याङ्दी, मर्स्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लिमिटेडको लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।