काठमाडौं– म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। आफ्ना केही 'साथीहरु'को नाम सम्बोधन गरेर 'तिमीहरुको दाइ मिदी भइसक्यो, नडराओ' भन्दै भिडियो खिचेका किशोरसहित प्रहरीले अर्का १ जनालाई पनि पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भिडियोबाट भाइरल भएका युवक वाणगंगा नगरपालिका-४ का १६ वर्षीय नवराज रेग्मी र उनका आफन्त पर्ने पुरन भट्टराई छन्।
‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो। तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो? बाल भएन, जोइन्ट तान्न मन छ भने पनि तान्दे। लड्न मन लागे लड। कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी। माँ कसम! निखिल उप्रेती मेरो नाम नेपालभर चिन्छ। इन्स्पेक्टर त डराउँछ, माथिका त डराउँछन्। नेपालको कानुन डराउँछ,’ नवराजले भिडियोमा भनेका छन्।
म्यादी प्रहरीको पोसाक लगाएर जोइन्ट (गाँजा) सेवनको प्रचार गरेको विषयलाई प्रहरीले अपराधिक गतिविधिका रुपमा लिएर नवराजलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार पक्राउ परेका अर्का युवक (पुरन) नवराजका फुपूका छोरा हुन्। उनी म्यादी प्रहरीमा भर्नासमेत भएका थिए।
पुरनकै पोसाक प्रयोग गरेर नवराजले भिडियो खिचेको र उक्त भिडियो टिकटकलगायतका सञ्जालमा सेयर गरेको देखिएको एसपी कार्कीले जानकारी दिए।
'म्यादी प्रहरीको पोसाक लगाएर मिदी भइसकेको भन्ने किशोर पक्राउ परेका छन्। अहिले अभद्र व्यवहारको कसुरमा अनुसन्धान थालिएको छ,' कार्कीले नेपाल लाइभसँग भने, 'जोइन्ट (गाँजा) खान्छु, खुवाउनुपर्छ भन्ने कुरा गम्भीर हो। अर्को उनले प्रहरी पोसाकको दुरुपयोग गरेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।