काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम रहेको हल्लापछि बन्द रहेको उडान सुरू भएको छ।
बम नभएको पुष्टि भएपछि ११ बजेर १० मिनेटबाट उडान सुरु भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए। ‘हाम्रो टर्मिनल क्षेत्रअन्तर्गतको टेलिफोन कक्षमा बम भएको भनेर विदेशबाट फोन आयो। त्यसपछि हामीले अलर्ट भएर सुरक्षा निकायलाई जानकारी दियौं,’ उनले भने,‘दुई तीनपटक फोन आएको थियो। कहाँबाट आएको भन्ने विषयमा प्राविधिक टोलीले हेरिरहेको छ।’
पाकिस्तान र अष्ट्रेलियाबाट फोन आएको भन्ने खुले पनि त्यसको अध्ययन भइरहेको उनले जानकारी दिए। उनका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोले उक्त फोन कलका बारेमा अनुसन्धान गरिरहेको छ।
बम भएको फोन आएपछि उडानका लागि पुगेका यात्रुहरुलाई बाहिर निकालेर उक्त क्षेत्र खाली गरिएको थियो। बमको हल्लापछि विमानस्थल क्षेत्रमा यात्रुहरु आतंकित बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।