काठमाडौं– नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तीन मौसमी प्रणालीका कारण देशभर केही दिनदेखि वर्षा भइरहेको महाशाखाको भनाइ छ। काठमाडौं उपत्यकासहित देशका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही र तराई भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।