काठमाडौं– कुवेतबाट काठमाडौं आएको जजिरा एयरबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्।
मंगलबार बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुपन्देहीका २८ वर्षीय एक नेपाली यात्रु पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा मिक्सरको भित्री भागमा फल्स बटम बनाई ल्याइएको १०० ग्राम सुन फेला परेको हो।
उनलाई अनुसन्धान एवम् कारबाहीका लागि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएको छ।
भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।
त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको रु.१ लाख ५६५ राजस्व तिर्नुपर्ने हुन्थ्यो। त्यसरी भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत गर्नुको साथै त्यस्तो सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।