काठमाडौं– सरकारले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षकमा एआईजी धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन्।
आफू सिनियर हुँदा हुँदै एकमहिना अघि मात्रै एआईजी भएका सिंहलाई आईजी नियुक्त गरिएको भन्दै पोखरेलले आफ्नो पक्षमा परमादेशको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
‘मेरै सुपरीवेक्षण, नियन्त्रण र निर्देशनमा रहेको र मैले नै कार्यसम्पादन मुल्यांकन गरेको निज विपक्षी मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णयको कारण मेरै सुपरीवेक्षक बन्ने, मैले कमाण्ड गरेको व्यक्तिको कमाण्डमा निजभन्दा वरिष्ठ व्यक्ति म रहनुपर्ने पीडादायी परिस्थितिको सृजना गरिदिएको छ,’ पोखरेलले दायर गरेको रिटमा भनिएको छ।
मन्त्रिपरिषद्को स्वेच्छाचारी निर्णय सम्पूर्ण सुरक्षा संरचनाको मूल्य मान्यता समाप्त गर्ने र मनोवल गिराउने दिशातर्फ उन्मुख रहेको रिटमा उल्लेख छ।
‘यी सबै तथ्यहरु र कार्यशुलता, कार्यक्षमता र नेतृत्व क्षमता समेतको आधारमा म निवेदक विपक्ष धीरजप्रताप सिंहभन्दा धेरै अब्बल र उत्कृष्ट रहेको छु,’ उनले रिटमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।