काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र दलाल (ब्रोकर)मार्फत मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनपछि नेप्सेले ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७’ कार्यान्वयनमा ल्याएको हो।
नेप्सेले २ वर्षअघि नै ब्रोकरमार्फत हुने मार्जिन लेन्डिङका लागि कार्यविधि बनाएर लागू गरेको थियो। तर उक्त कार्यविधि व्यावहारिक नभएको भन्दै लगानीकर्ताले चासो नदेखाएपछि संशोधनका लागि बोर्डसमक्ष पेश गरेको थियो। बोर्डले संशोधन गरेको करिब एक वर्षपछि नेप्सेले कार्यविधि कार्यान्वयनमा ल्याएको हो।
कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो २ आर्थिक वर्षमा १० प्रतिशत भन्दा बढी लाभांश दिएको कम्पनीलाई ब्रोकर मार्फत मार्जिन दिन सकिने धितोपत्र बोर्डले बताएको छ।
यसैगरी, अघिल्लो आर्थिक वर्षको कुल कारोबार दिनमा कम्तिमा पनि ८० प्रतिशत कारोबार दिनमा सेयर किनबेच भएको हुनुपर्नेछ। कुनै पनि कम्पनीले आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेमा मात्रै मार्जिन सुविधा दिने प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।