काठमाडौं– सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजी) राजु अर्यालले संगठनको प्रधान कार्यालय (हेडक्वार्टर)मा सीमा सुरक्षा डेस्क स्थापना गरिने बताएका छन्। सीमा सुरक्षासम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान २४सै घण्टा रहनेगरी छुट्टै सीमा सुरक्षा डेस्क स्थापना गरिने उनको भनाइ छ।
नवनियुक्त आईजी अर्यालले संगठनभित्र कर्मचारीको सरुवा तथा बढुवालाई न्यायोचित बनाउने पनि प्रतिवद्धता व्यक्त गरे। सोमबार गृह मन्त्रालयमा सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) लगाएपछि कार्यक्रममा बोल्दै आईजी अर्यालले कमाण्ड, आचरण पालना, अनुगमन मूल्यांकन, पुरस्कार तथा दण्ड, भ्रष्टाचार एवं लैङ्गिक हिंसा लगायतका विषयहरुलाई नीति, नियम र कार्यविधिद्वारा नियमन गरिने बताए।
'सशस्त्र प्रहरी बल नेपालको सांगठनिक सुदृढीकरण र विकासका लागि मेरो कमाण्ड अवधारणाअनुरुप नीतिगत, संस्थागत र संरचनागत विषयहरुमा रणनीतिक योजना र कार्ययोजनाको खाका तयार पारेको छु,' आईजी अर्यालले भने, 'नीतिगत सुधारअन्तर्गत सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउन र पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गरिनेछ।'
अहिलेको प्राथमिकता स्थानीय तहको निर्वाचन भएकोले निर्वाचनको सुरक्षा र निष्पक्षताका लागि सशस्त्र प्रहरी बल तयार रहेको अर्यालले बताए। अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको बताए।
आईजी अर्यालले आर्थिक पारदर्शीतालाई आफ्नो पहिलो प्राथमिकता बनाएर राजस्व संकलनमा अभिवृद्धि र चोरी, तस्करी नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताए।
'आर्थिक पारदर्शीता मेरो प्राथमिकता रहेको छ। राजस्व संकलनमा अभिवृद्धि र चोरी तस्करी डेटालाई प्रभावकारी बनाउनु प्रमुख उद्देश्य हुनेछ,' अर्यालले भने, 'गस्ती र सीमा सुरक्षा सुदृढ पार्न सीमा विकास कार्यक्रमअन्तर्गत सीमा निगरानी बहुउद्देशीय सडक निर्माण गर्नुपर्छ भन्ने कन्सेप्टलाई मन्त्रालयमार्फत् नेपाल सरकारसँग यसै अवसरमा जाहेर गर्न चाहन्छु। सीमा सुरक्षासम्बन्धी घटना तथा जानकारी समयमै प्रतिवेदन गर्न र कार्यान्वयनमा लैजान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा २४ सै घण्टा रहनेगरि सीमा सुरक्षा डेस्क छुट्टै स्थापना गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।