काठमाडौं– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले अपराधिक तत्वसँगको साठगाँठलाई निमिट्यान्ट पार्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आफूले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने पनि सिंहको भनाइ छ।
सोमबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न (फुली) लगाएपछि कार्यक्रममा आफ्ना धारण राख्दै महानिरीक्षक सिंहले भने, 'सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाउँछु। कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्छु।'
आईजी सिंहले सहकर्मीलाई साथमा लिएर अपराधिक तत्वसँगको साठगाँठलाई निर्मुल पार्ने बताए। 'भ्रष्टाचारमा शुन्य सहनशीलता कायम राखिनेछ। अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने विषयलाई केन्द्रमा राखी सबै सहकर्मीहरुलाई साथमा लिएर संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धता जनाउँछु,' सिंहले भने।
अहिले स्थानीय तहको निर्वाचनलाई सुरक्षित र भयरहित तवरबाट सम्पन्न गर्ने राष्ट्रिय कार्यभार रहेको बताउँदै आईजी सिंहले निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।