विराटनगर– इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मंगलबार मनाइँदैछ। इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन्।
गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार बस्छन्। रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन्। रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।
दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारिपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ।
यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्धजन्य पदार्थ, मासुका परिकार, फलफूल आदि खाने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।