काठमाडौं– देशका विभिन्न भागमा आज (सोमबार) पनि वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनको प्रभावका कारण आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ।
महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
प्रदेश १, मधेस र गण्डकी प्रदेशका केही स्थान र बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
आज राति पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
हाल नेपालमा स्थानीय वायुसँगै भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको महाशाखाको भनाइ छ।
मंगलबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविद्हरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।