काठमाडौं–चौधरी ग्रुपका संस्थापक स्व. लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’ आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ।
बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा स्व. चौधरीलाई जीवनको अन्तिम अवस्थासम्म स्याहारसुसार गर्ने कार्यमा खटिएका ३ जना सहायकहरुलाई विशेष सम्मानसमेत गरिएको थियो। त्यसरी सम्मानित हुनेहरुमा राम ढुंगाना, आलोक रजक र सुनील गुरुङ छन्। उनीहरुले सम्मानपत्रका साथमा नगदसमेत प्राप्त गरेका थिए।
कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाइँ तथा परिवारका अन्य सदस्यहरुले संयुक्त रुपमा विमोचन गरेका थिए। कार्यक्रममा स्व. चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा एमडी अग्रवाल, वरिष्ठ कलाकार हरिहर शर्मा, चौधरीका ज्वाइँ महेशकुमार अग्रवाल, नातिनी मेगा चौधरी, कान्छा छोरा उद्योगपति अरुण चौधरी तथा माइला छोरा बसन्त चौधरीले स्व. चौधरीको व्यक्तित्वलाई स्मरण गरेका थिए। त्यसअवसरमा साहित्यकारसमेत रहेका बसन्त चौधरीले आफ्ना पिताको स्मरणमा लेखेको कविता पनि सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।