काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा प्रवेश र अवकासका 'ब्यारियर' नराख्ने तयारीमा सरकार रहेको बताएका छन्।
उमेरहदका कारण अवकाशमा जान लागेका नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीको बिदाइका लागि बुधबार गृह मन्त्रालयले गरेको कार्यक्रममा गृहमन्त्री खाणले प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधि के गर्ने होला ? भन्ने विषयमा छलफल प्रारम्भ भएको बताए।
‘दुवै प्रहरीमा लामो समयदेखि सेवाअवधिका कारणले यहाँहरूको असीमित क्षमता हुँदाहुँदै पनि बिदा गर्न परिरहेको छ। ३० वर्षलाई के गर्ने होला ? त्यसका लागि छलफल भइरहेको छ। प्रारम्भदेखि नै दुवै प्रहरीको सेवा प्रवेश र अवकाशका लागि यति धेरै ब्यारियरहरू राख्न हुँदैन। मानिसको उमेर पनि बढिरहेको छ, अनुभवन पनि बढिरहेको छ,’ गृहमन्त्री खाणले भने, ‘उमेरको हदबन्दीलाई मिलान गर्ने, पदीय समायोजनको कुरालाई पनि मिलान गर्ने गर्दा ३० वर्षलाई नराख्दा हुन्छ भन्ने छ। प्रहरीमा फेरि जान लागेकाले ३० वर्ष लाग्न हुन्न भन्छन्। उनीहरूलाई पठाएर आफू बन्न चाहनेले लगाउनुपर्छ भन्छन्। हामीले गर्दाखेरी संस्थालाई हित हुने कसैलाई पनि नकारात्मक प्रभाव नपर्ने समयमा मिलान गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’
सरकारको चाहना उमेरहदलाई पहिल्यै मिलान गर्ने रहेपनि लामो समयसम्म संगठनलाई व्यवस्थित राख्न नसकेको र निर्वाचनको मुखमा नीतिगत निर्णय नगरौँ भन्ने सल्लाहका कारण तत्कालका लागि रोकिएको गृहमन्त्री खाणले बताए।
गृहमन्त्री खाणले नेपाल प्रहरीका महानिरीक्षक थापा आफ्ना कारणले कहिल्यै पनि विवादमा नआएको बताए। ‘नेपाल प्रहरीमा शैलेश थापाले ज्यादै नै सफलताकासाथ आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ,’उनले भने, ‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनु भयो होला। तर, आफ्नो कार्यक्षेत्र, अधिकार र निर्णयका कारणले कुनै पनि विवादमा आउनुभएन।’
गृहमन्त्री खाणले मन्त्रालयको भूमिकाका हिसाबले भन्दा थापाले शतप्रतिशत नम्बर प्राप्त गरेको बताए। सशस्त्र प्रहरीका महानिरीक्षक केसीले आफ्नो छोटो कार्यकालमा ‘हुने विरुवाको चिल्लो पात’भनेजस्तै राम्रा कामको थालनी गरेको गृहमन्त्री खाणले बताए।
सरकारले बिदाइ भएर गएका थापा र केसीबाट आगामी दिनमा विभिन्न नीतिगत कुराहरूमा संस्थालाई सबल गराउने क्रममा सुझाव र सल्लाह प्राप्त गरिरहने आशा राखेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।