काठमाडौं– निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन्।
हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै निजी शैक्षिक संस्थाहरुले सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
उनीहरुले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिनाकुनै छलफल र परामर्श अचानक अव्यवहारिक निर्णय गरेको गुनासो गरे। उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थाहरुसँग बिनाकुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने बताए।
महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पारे।
त्यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए। उनले कर्मचारीहरुलाई हेरेर निर्णय गरेको तर, विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।