काठमाडौं– नेपाल प्रहरीको २९औं महानिरीक्षक (आईजी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध २ जना अतिरिक्त महानिरीक्षक (एआईजी) अदालत जाने भएका छन्।
एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापाले आईजी बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका हुन्।
२४ मंसिर २०७७ र २१ असार २०७८ मा एआईजी भएका पोखरेल र थापालाई पन्छ्याएर सरकारले आइतबार सिंहलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो। सिंह १७ चैत २०७८ मा मात्रै एआईजी बढुवा भएका थिए।
बरीयतामा अगाडि रहेका आफूहरुलाई पन्छ्याएर जुनियरलाई आईजी नियुक्त गर्ने निर्णय बदरको माग गर्दै रिट दर्ताको तयारी भइरहेको एआईजी पोखरेलनिकट स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
आईजी बढुवा भएका सिंह एआईजीमा बढुवा हुँदाकै मुद्दा समेत अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
सिंह र रवीन्द्र धानुकको एआईजी बढुवाको निर्णयविरुद्ध डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।
आफूभन्दा जुनियरलाई बढुवा गरेको भन्दै उक्त बढुवा खारेजको माग गर्दै उनीहरुले रिट दायर गरेका थिए। पटक–पटक कारबाही स्वरुप निलम्बनमा परेका र जुनियरलाई बढुवा गरेर आफूहरुलाई छुटाइएको उनीहरुको रिटमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।