काठमाडौं– नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजी) बढुवा प्रक्रिया थप जटिल बनेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठता मिचेर १६ महिना जुनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई आईजी बनाउने अडान राखेपछि विवाद भएको हो।
आफूनिकटका व्यक्तिको सल्लाहमा प्रधानमन्त्री देउवाले १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीमा बढुवा गर्ने तयारी गरेका थिए। तर, गृहमन्त्री वालकृष्ण खाणसहितका मन्त्रीहरुले भने बरीयता र ज्येष्ठता नमिची बढुवा गर्नुपर्ने अडान राखेपछि आईजी बढुवा प्रक्रिया पेचिला बनेको हो।
गृहमन्त्री सहितका व्यक्तिले ज्येष्ठता र बरीयतामा पहिलो नम्बरमा रहेका एआईजी विश्वराज पोखरेललाई आईजी बढाउनु पर्ने अडाउन राखेका छन्। ज्येष्ठता मिच्दा विवाद आउनसक्ने भन्दै यसबारे परामर्श समेत गरिएको स्रोतले जनाएको छ।
जानकार स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी, महान्यायाधिवक्ता खम्मबहादुर खाती र आईजी शैलेश थापा क्षेत्रीबीच परामर्श समेत भएको छ।
ज्येष्ठता मिचेर बढुवा गर्दा त्यसबाट निम्तन सक्ने कानुनी परिणामका बारेमा छलफल भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
सत्ता गठबन्धनकै नेताहरुले समेत ज्येष्ठता र बरीयता नमिची आईजी बढुवा गर्न सुझाव दिएका छन्। तर, देउवाले जसरी पनि सिंहलाई आईजीमा बढुवा गर्नुपर्ने अडान राखेपछि ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक समेत अहिलेसम्म बस्न सकेको छैन।
आइतबारबाट वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन्। उनी अवकाशमा जाने भएपछि सरकारले आइतबार नै आईजी बढुवा गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।