काठमाडौं- देशमा व्यापक रोजगारी सिर्जना गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्।
नेपाल लाइभको सह-प्रकाशन नेपाल लाइभ टुडेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बडूले राष्ट्रिय उत्पादन बढाउन ऐन नियममा केही समस्या भए तिनलाई संशोधन गर्न सरकार तयार रहेको बताए।
उनले उद्यमी व्यवसायी तथा लगानीकर्ताहरुले प्रशासनिक झमेला व्यहोर्नु नपरोस भनेर सरकारले प्रयास गरिरहेको पनि बताए। ‘हामी सेवाप्रवाह प्रभावकारी बनाउन लागि रहेका छौं, तपाईंहरुको सुझाव चाहियो,' मन्त्री बडूले भने।
उनले पेट्रोलियम पदार्थको बढ्दो आयातले गर्दा वैदेशिक मुद्रा संचितिमा चाप बढी रहेको भन्दै यो आर्थिक वर्षभित्र पेट्रोलियम पदार्थको खपत कम्तीमा २० प्रतिशत घटाउने उद्देश्यअनुरुप सरकारले जेठ १ देखि हप्तामा दुई दिन बिदा दिन लागेको बताए।
मन्त्री बडूले सरकारलाई सकारात्मक बाटो देखाउन र सुशासन तर्फ डोहोर्याउन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनले नेपाल लाइभ समूहलाई सत्य र तथ्यमा आधारित समाचार निर्भिकतापूर्वक प्रकाशन, प्रसारण गर्न सुझाव दिए।
उक्त समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चीन र बंगलादेशसँग स्वतन्त्र व्यापार सम्झौता गरी भारतजस्तै सहुलियतपूर्ण बजार पहुँचका लागि पहल गर्न र विशेषगरी कृषिजन्य उत्पादनलाई शून्य भन्सारमा बजार पहुँचको व्यवस्था गर्न पहल गर्न आग्रह गरे। उनले साना तथा मझौला उद्यमीलाई ५ प्रतिशतमा नै पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था गर्न पनि माग गरे।
'नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको हुँदा निजी क्षेत्रको प्रत्यक्ष संलग्नतामा संक्रमणकालीन रणनीति तयार गर्नुपर्छ। निर्यातमा देखिने समस्या समाधानका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका हुनुपर्छ। यसबारे नेपाल उद्योग वाणिज्य महासंघले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको छ, यसलाई आधार बनाउन सकिनेछ,' अध्यक्ष गोल्छाले भने।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेतृत्व परिवर्तन हुनासाथ नीति परिवर्तन नगर्न सुझाव दिए। उनले व्यापार र उद्योगलाई बैंक कर्जाको दर समान रहेको भन्दै साना तथा मझौला उद्योग र महिलाहरुले नेतृत्व गरेका व्यवसायलाई दिइने कर्जामा व्याज घटाउन माग गरे। खुला सीमाबाट कर छली गरेर आउने आयातले नेपाली उद्योगहरुलाई समस्या परिरहेको बताउंदै मल्लले कर बढाउनु भन्दा करको दायरा बढाउन सुझाव दिए।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आन्तरिक उत्पादन वृद्धि गर्न नसकेकाले अहिले अर्थतन्त्रमा असहज अवस्था आएको बताए। उनले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत रहेकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर मात्रै औद्योगिक विकासको जग बसाल्न सकिने बताए।
'अहिले हामीले वर्षेनी ३०० अर्ब रुपियाँ भन्दा बढी कृषिसँग सम्बन्धित वस्तुहरुको आयात गरिरहेका छौं। सरकारले उपयुक्त नीति ल्याउने हो भने २०० अर्ब भन्दा बढी प्रतिस्थापन गर्न सक्छौं ,' उनले भने। उनले नेपाल उद्योग परिसंघले सात वर्ष पहिले उद्योग क्षेत्रका समस्या हटाना दिएका सुझावहरु अहिलेसम्म सम्बोधन नगरिएको बताए। ' नीति मात्रै हैन नियत पनि परिवर्तन गर्न जरुरी छ,' उपाध्यक्ष अधिकारीले भने।
नेपाल लाइभ समूहका अध्यक्ष अनिल न्यौपानेको अध्यक्षतामा आयोजित समारोहमा नेपाल लाइभ समूहका सल्लाहकार सम्पादक भगीरथ योगी तथा नेपाल लाइभ टुडेका सम्पादक शिरोमणि ढुंगानाले पनि मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।