काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमा कार्यरत श्रमिकहरूको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानूनको प्रभावकारी कार्यन्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्। ‘मुलुकको विकास र समृद्धिका लागि निरन्तर कार्यक्षेत्रमा खट्नुहुने सम्पूर्ण श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ।’
उनले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको बताएका छन्। सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको मन्त्री श्रेष्ठको भनाइ छ।
‘अधिकार प्राप्त राष्ट्रिय श्रम आयोग गठन गर्ने, श्रमिकका लागि अस्पताल बनाउने, श्रम कार्यालयहरु विस्तार गर्ने, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिक सहित विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने, स्वदेश लागि तथा वैदेशिक रोजगारीमा श्रमिक पठाउन गन्तव्य मुलुकको आवश्यकता अनुसारको सीपयुक्त जनशक्ती तयार गर्ने सहितका योजना मन्त्रालयले अघि बढाएको छ,’ सन्देशमा भनिएको छ।
वैदेशिक रोजगारीमा रहेकाहरूको अधिकार, मर्यादा र सुरक्षाका लागि गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र श्रम सम्झौता नविकरणलाई पनि प्राथमिकता दिइएको मन्त्री श्रेष्ठको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।