सिन्धुली–सिन्धुलीको तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ।
सात घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उनीहरूलाई पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिए।
दुर्घटनामा तिनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए।
बलेरोमा सात जना घाइते र तीन मृतक गरी १० जना सवार रहेको उनले बताए।, सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको आशंका गरिएको उनको भनाइ छ। दुर्घटनास्थलबाट गाडी निकाल्ने प्रयास भइरहेको उनले जानकारी दिए।
सिन्धुलीबाढीबाट तिनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो। उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।