काठमाडौं– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अल्मुताइरी र असन्तुष्ट १० खेलाडीबीचको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन्।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष वीरबहादुर खड्का र कार्यसमिति सदस्य दावा लामाले संयुक्त रुपमा बैठक राख्न माग गरेका हुन्।
'एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील भएकोले तत्काल बैठक बसी निर्णय गर्नुपर्ने भएको हुँदा एन्फा कार्यसमितिको बैठक यथाशीघ्र बस्नका लागि अनुरोध गर्दैछौं,' संयुक्त पत्रमा भनिएको छ ।
प्रशिक्षणमा रहेका रोहित चन्दलाई अल्मुताइरीले टोलीबाट निकालेपछि विवाद सुरु भएको थियो। त्यसपछि अन्य ९ खेलाडीले पनि प्रशिक्षण छाडेका थिए।
असन्तुष्ट १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा खेल्न गाह्रो हुने बताएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।