काठमाडौं- जर्मन प्रशिक्षक योर्गेन क्लोपले इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। क्लोपले लिभरपुलसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्।
५४ वर्षीय क्लोपको सम्झौता २०२४ को सिजनको अन्त्यसम्म रहेको थियो। तर, थप २ वर्षे सम्झौता गर्दै आफ्नो बसाइँ २०२६ सम्म लम्ब्याएका छन्। क्लोप सन् २०१५ को अक्टोबरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट दुई वर्षको लागि क्लबमा अनुबन्ध भएका थिए। त्यसको एक वर्षपछि क्लोपले लिभरपुलसँग थप ६ वर्षको सम्झौता गरेका थिए।
क्लोपको प्रशिक्षणमा लगातार उच्च प्रदर्शन गरिरहेको लिभरपुलले समान एकपटक प्रिमियर लिग, इएफएल कप, युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन्।
क्लोपकै प्रशिक्षणमा लिभरपुल यो सिजन चार उपाधि नजिक रहेको छ । इएफएल कपको उपाधि जितिसकेको लिभरपुल एफए कपको फाइनलमा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगको पनि उपाधि नजिक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।