काठमाडौं– गायक बालेन शाहले काठमाडौंको उम्मेदवारी घोषणा गरेदेखि नै उनी चर्चामा छन्। आइतबार उनले काठमाडौंको मेयरमा उम्मेदवारी दर्ता गराएसँगै उनलाई कलाकारिता तथा अन्य विभिन्न क्षेत्रका सेलिब्रेटीबाट समर्थन मिलेको छ।
बालेनलाई अभिनेत्री प्रियंका कार्की, अभिनेता निर्मल शर्मा, निर्देशक दिपेन्द्र के खनाल, टिकटकर अन्सु वर्मा, फुटबलर सुजल श्रेष्ठ, हास्यकलाकार पवन खतिवडा, अभिनेता तथा पाइलट विजय लामालगायत विभिन्न सेलिब्रेटीले उनलाई समर्थन जनाएका छन्। विभिन्न सेलिब्रेटीहरुले सामाजिक सञ्जालबाट बालेनको समर्थन गरेका छन्।
बालेनको समर्थन गर्दै अभिनेता तथा बालेन शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एक स्वतन्त्र उम्मेदवारको हैसियतले प्रतिस्पर्धा गर्न पक्कै सहज छैन। तर, सकारात्मक सोच, दृढ आत्मबल, स्प्ष्ट योजनासहित अघि बढ्यो भने लक्ष्य असम्भव छैन। शुभकामना तपाईं!!’
त्यस्तै गायक हेमन्त शर्माले पनि बालेनको समर्थन गर्दै सामाजिक सञ्जालमा स्टेटस राखेका छन्। शर्माले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाका निम्ति मेयरका स्वतन्त्र उम्मेदवार, लोकप्रिय गायक भाइ बालेन शाहको गीत सुन्दा जति मजा आउँछ, काठमाडौंको विकासको तर्क सहितको योजना सुन्दा पनि त्यत्ति नै मजा आउँछ।’
त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की तथा फिल्म निर्देशक दिपेन्द्र के खनालले बालेनको घोषणा पत्रको सारांश हाल्दै सामाजिक सञ्जालमार्फत समर्थन देखाएका छन्।
त्यस्तै, अभिनेता तथा निर्माता निर्मल शर्माले सामाजिक सञ्जालमार्फत भिजन भएको युवा राजनीतिमा चाहिने भएकाले बालेनलाई भोट हाल्न अनुरोध गरेका छन्। उनी लेख्छन्, ‘अब देश बनाउन पार्टीको टिकट होइन्, भिजन भएको युवा नै चाहिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।