काठमाडौं– सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु भएको छ। प्राविधिक कारण देखाउँदै नेपाल फुटबल संघ (एन्फा)ले १० दिन पर सारेको ‘सी’ डिभिजन आज सुरु भएको हो।
प्रतियोगिता चैत २८ गतेदेखि सञ्चालन गर्ने एन्फाको तयारी थियो। तर, एन्फाले सहभागी क्लबले तयारी खर्चस्वरूप पाउने पहिलो किस्ताको रकम नदिएपछि लिग सरेको थियो।
‘सी’ डिभिजनमा १४ क्लबले खेल्नेछन्। पहिलो दिन शुक्रबार स्पोर्टस एकेडेमी सागा र महावीर क्लब भिडेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न उद्घाटन खेलमा महावीरसँग स्पोर्टस एकेडेमी २–१ ले पराजित भएको छ।
महावीरको जितमा सुरज थारु र रोमन तामाङले गोल गरे। यता, स्पोर्टस एकेडेमीका साजन श्रेष्ठले एक गोल फर्काए।
खेलमा अग्रता भने स्पोर्टस एकेडेमीले लिएको थियो। खेलको २८औं मिनेटमा साजनले गोल गरेका थिए। तर, स्पोर्टस एकेडेमीले उक्त अग्रता जोगाउन सकेन।
५५औं मिनेटमा महावीर खेलमा फर्कियो। उसका लागि सुरजले पेनाल्टीमार्फत् गोल गरे। यस्तै, खेल सकिन केही मिनेट बाँकी रहँदा रोमले गोल गर्दै महावीरलाई २–१ ले विजयी बनाए।
जितसँगै महावीरले ३ अंक जोडेको छ। यता, स्पोर्टस एकेडेमीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।