काठमाडौं– चलचित्र विकास बोर्डले नेपालमा हिन्दी डब फिल्म रिलिज गर्न नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ। मंगलबार बसेको बोर्डको बैठकले नेपालमा हिन्दी डब सिनेमा प्रदर्शन गर्न नदिने निर्णय गर्दै सो निर्णयलाई कार्यान्वयन मन्त्रालयलाई आग्रह गरेको हो।
बैठकमा नेपालमा विदेशी डब फिल्मलाई प्रदर्शन गर्न नदिने आग्रह गर्दै मन्त्रालयलाई पत्रचार गर्ने निर्णय भएको बोर्डका अध्यक्ष दयाराम दाहालले बताए। उनका अनुसार बोर्डले विभिन्न भाषामा बनेर हिन्दी भाषामा डबिङ भएका फिल्महरुलाई नेपालमा प्रदर्शन गर्न नदिन मन्त्रालयलाई पत्राचार गरिएको छ।
‘हाम्रो निर्णय लागू हुने हो भने तमिल, तेलुगु, कन्नड, मल्यालम तथा भोजपुरीलगायत भारतका क्षेत्रीय सिनेमा हिन्दीमा डब भएर नेपालमा प्रदर्शन हुने छैनन्,’ दाहालले भने, ‘यद्यपि, विदेशी सिनेमाका रूपमा भने जुन भाषामा बनेका सिनेमा हुन् त्यही भाषामा भने रिलिज गर्न पाइनेछ।’
दाहालका अनुसार विदेशी सिनेमालाई नभएर डब सिनेमालाई नेपालमा प्रदर्शन गर्न नदिन मन्त्रालयलाई पत्रचार गरिएको छ। विदेशी सिनेमामाथि प्रतिबन्ध नभई डब सिनेमा नआउने वातावरण बनाउन खोजिएको उनले स्पष्ट पारे।
पछिल्ला केही महिना यता नेपालमा दक्षिण भारतीय फिल्मको प्रभाव बढ्दो छ। हिन्दी भाषामा रिलिज हुने दक्षिण भारतीय फिल्मको बढ्दो दबदबाका बीच चलचित्रकर्मीहरुले गरेको विरोधका कारण बोर्डले अबदेखि डब चलचित्रलाई प्रदर्शन गर्न नदिन मन्त्रालयलाई आग्रह गर्ने अवस्था आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।