काठमाडौं– ‘द कश्मिर फाइल्स’ फिल्म निर्माणपछि नयाँ फिल्म ‘द दिल्ली फाइल्स’को घोषणा गरेका भारतीय फिल्म निर्देशक विवेश अग्निहोत्रीले आगामी फिल्मको कथावस्तु सार्वजनिक गरेका छन्। अग्निहोत्रीले आफ्नो फिल्ममा फेरि ऐतिहासिक विषयलाई समेटेर फिल्म निर्माण गर्न लागेका छन्।
‘द दिल्ली फाइल्स’मा उनले १९८४ मा भएको सिख दंगाको कथालाई देखाउने बताएका छन्। उनले त्यत्ति बेला भएको उक्त घट्ना भारतीय इतिहासको एउटा कालो अध्याय भएको बताएका छन्। एएनआईसँगको कुराकानीमा उनी भन्छन्, ‘यो फिल्म १९८४ को डार्क च्याप्टरको बारेमा हुनेछ। यसमा तमिलनाडुसँग जोडिएको सत्यतथ्यलाई देखाइनेछ।’
अग्निहोत्रीले त्यो बेला भएको घटनासँग तमिलनाडु र पञ्जाबको सम्बन्धलाई फिल्ममा केलाउने बताएका छन्। उनले पञ्जाबमा पनि अमानवीय तरिकाले आतंकवादको स्थितिलाई सम्हालेको कुरा फिल्ममा देखाइने बताएका छन्। उनी भन्छन्, ‘दिल्ली फाइल्समा तमिलनाडुको बारेमा सत्य हुनछ। यो दिल्लीको बारेमा नभएर दिल्लीले भारतलाई कसरी बर्बाद गरिहेको छ भन्ने बारेमा हुनेछ।’
अग्निहोत्रीको पछिल्लो फिल्म ‘द कश्मिर फाइल्स’ले सुस्त गतिमा चर्चा कमाउँदै बल्कबस्टर व्यापार गरेको थियो। उक्त फिल्ममा भारतको कश्मिरबाट विस्थापन हुनुपरेका कश्मिरी पण्डितहरुसँग जोडिएको इतिहासलाई देखाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।