काठमाडौं–श्रवणीय संगीत र दर्शनीय म्युजिक भिडियो अचेल सोझै आउँदैनन्, ‘घुमी घुमी’ आइपुग्छन्! ती आइपुग्न वर्षाैं लगाउँछन्। केही दिनअघि मात्रै आइपुग्यो, युट्युबमा आइपुग्यो त्यस्तै नेपाली गीत। आउनेबित्तिकै दोधार बनायो, सुनेर हेर्ने कि हेरेर सुन्ने?
गीत सुनेरमात्रै म्युजिक भिडियो हेर्ने बानी छ। म्युजिक भिडियो निर्माणमा आएको विचलनले बानी पारेको हो। भिडियोले सुन्दर गीतको हत्या गरेको आफ्नै आँखाले हेर्ने साहस ममा छैन।
डोको बोकेर उकालो लागिरहेका मान्छेहरुको दृश्यले आँखा उतै–उतै तानिरहेकै थियो, फ्याट्ट आइपुगे विपिन कार्की। यत्तिले हो हेर्ने कि सुन्ने भनेर दोधार पारेको। नत्र गीतसंगीत सुन्नकै लागि हुन्। सुनेर कल्पिने दृश्यभन्दा सुन्दर छायांकन गर्ने क्यामेरा प्रविधि हालसम्म अविष्कार भएको छैन। ‘एनामर्र्फिक लेन्स’बाट खिचिएको भन्ने विवरणले त्यसकारण पनि उत्साहित गरेन।
त्यसपछि कानमा पर्यो :
केटा : घुमी–घुमी झर्यो ओरालीको बाटो
तिमी आउनु त्यै बाटो अरु आउनु साटो
केटी : सुस्तै–सुस्तै चढ्यो उकालीको बाटो
बोकी आउनु एकमुठी माया रित्तै आउनु साटो
गीतका शब्दमा अचेल उस्तो गहिराइ भेटिदैन। गीतलाई गहिरिएर सुन्नेहरुको संख्या कम भएर हुन सक्छ? धेरैलाई यस्तो लाग्छ। सस्ता–सजिला गीत ल्याएर मिलिक्कै भाइरल भइहाल्ने र केही दिनमा गइहाल्नेहरु हावी हुँदा पनि त्यस्तो लागेको हुन सक्छ।
सत्य त्यस्तो होइन। हर्क साउँदजस्तै बिम्बको धागोमा शब्दको माला उनेर ‘गीतीमाला’ बनाउनेहरुको संगीतको दुनियाँमा न्युन उपस्थिति हो। साउँदहरुले गीत बुन्दै गर्दा मनको भित्री तहमा गुञ्जिने झंकार बुझ्ने संगीतकर्मीको कमी हो। त्यसलाई बुझेर संगीतको पाइन हाल्नेहरुको अभाव हो।
व्यावसायिक कलाकारलाई अचेल आफ्नो स्वर सुनाउनु छैन। दर्शक नचाउने ध्याउन्न छ। स्टेज कार्यक्रमले धानिएको जिन्दगीको लय मिलाउँदा मिलाउँदै उनीहरुको गायन–लय बिग्रिएको छ। व्यावसायिक शब्द सर्जकलाई उनीहरुको ‘डिमान्ड’अनुसार गीत लेखेर आफ्नो ‘डिमान्ड’का पारिश्रमिक हासिल गर्नुछ। यी दुईको संगमले संगीतकार ‘एरेञ्जर’ बन्न विवश छन्।
यस्तो मौसममा ‘घुमी–घुमी’ अविश्वसनीय सिर्जना हो। हर्क साउँदसँग गायक÷संगीतकार सुजन चापागाईंको सहकार्यकै निरन्तरता हो। यादगार काम गर्ने उनीहरुको चाहनाको अर्को संस्करण हो। यसअघि पनि उनीहरुको सहकार्यबाट राम्रा सिर्जना प्राप्त भएका छन्। तर, उनीहरुको पूर्ण ‘ट्युनिङ’ चाहिँ यहाँ पुगेर मिलेको देखिन्छ।
गीत सुन्दै गर्दा पात बजाएको ‘पिस’ले भिडियो खोलिहेर्न बाध्य बनायो। आफूलाई पात्रमा दुरुस्तै ढाल्ने अभिनेता कार्की त्यो समय ‘भक्त’को स्वरुपमा तन्द्राबाट ब्युँझिदै थिए। अज्ञात स्नेहीले राखिछाडेको मकैले उनलाई आश्चर्यचकित बनाएको थियो।
यति हेर्दाहेर्दै विरह भावमा गुञ्जिरहेको संगीत एक्कासी रोमान्टिक हुन आइपुग्यो। प्रेमको रङले भित्रभित्रै रङ्गिरहेको भक्त घर रङ्ग्याउन थाल्यो।
म्युजिक भिडियोको कथाको आरोह अवरोहसँगै संगीतको परिवर्तन नेपाली संगीतमा निकै कम प्रयोग हुन्छ। यो अभ्यासले म्युजिक भिडियोसँग संगीतको समेत सामञ्जस्यता देखियो।
नेपाली संगीत क्षेत्रमा सामान्य अभ्यासप्रक्रिया यस्तो हुन्छ:
सुरुमा गीत लेख्ने।
त्यसपछि संगीत भर्ने र एरेञ्ज गर्ने।
त्यसपछि स्वर भर्ने। बाजा मिसाउने, सम्पादन गर्ने र मिक्सिङ गर्ने। यसलाई ‘अडियो बनेको’ भन्छन्। बल्ल सुरु हुन्छ, भिडियोको काम। यति प्रक्रिया सकिउन्जेल त्यसलाई दृष्यमा देखाउने निर्देशकसँग सम्पर्क त के परिकल्पना समेत गरिँदैन।
तर, यो योजनाबद्ध बनाइएको रहेछ। संगीत र दृष्य निर्माताको सुरुवातदेखि नै सहकार्य रहेछ भन्ने म्युजिक भिडियो हेर्दै जाँदा महसुस भयो। वा संयोग भए उनीहरु नै जानुन्!
भिडियोमा केही आँखाको बाटोबाट मनमा छिर्ने दृष्य छन्। जस्तैः सुन्तलासँगका तीन दृष्य। बाख्राको पाठो र हुर्किसकेपछि देखिएको अवस्था। खण्डहर र रंगीन घर। बाँसमा नाम लेखिएको र केटीका पिताले त्यही बाँस काटेको।
नयाँपन ल्याउने कोशिसमा लागिरहने निर्देशक नवीन चौहानले आफूलाई फेरि प्रमाणित गरेका छन्। अभिनेता कार्कीसँग अभिनयमा आफूलाई मिसाउनु अर्को अभिनयकर्मीका लागि सामान्य कर्म होइन, सानोतिनो जोखिम भइजान्छ। त्यो जोखिम उठाएकी अञ्जना बराइलीले आफूलाई स्वाभाविक रुपमा प्रस्तुत गरेकी छिन्।
हेर्दा पनि रमाइलै लाग्ने यो गीतमा आनन्द चाहिँ सुन्नुमै छ। सुनेर हेर्दा पनि हुन्छ, हेरेर सुन्दा पनि हुन्छ! सुन्नचाहिँ नबिर्सिनोस् है!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।