काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको महिनौंपछि पनि सामाजिक संजालमा ‘डिभोर्स’को चर्चा अझै सेलाएको छैन।
यसबीच, एलिनाका पूर्वश्रीमान विष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले गर्दा आफू मानसिक पीडाबाट गुज्रिरहेको बताएका छन्।
आफूहरूको सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको उनले जनाएका छन्।
‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’ उनले लेखेका छन्।
सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको उनले उल्लेख गर्दै लेखेका छन् ,‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन्।
उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह गरेका छन्। उनले प्रश्न गरेका छन्, ‘अहिले दुबैका आ-आफ्ना व्यक्तिगत, पारिवारिक र व्यवसायिक जीवन छ। कहिलेसम्म यसको सिकार हुनुपर्ने हो हामी ?’
उनले अहिले नेपाल र अस्ट्रेलियामा कानूनी परामर्श लिइरहेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।