काठमाडौं- अमेरिकामा आपराधिक कार्यबाट आर्जन गरेर नेपाल भित्र्याइएको आशंकामा नेपाल राष्ट्र बैंकले रोक्का राखेको पृथ्वीबहादुर शाहको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
सोमबार न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले मुद्दा फैसलाका लागि पठाउने आदेश गरेको छ।
साउन १५ गते सर्वोच्चमा दर्ता भएको उक्त रिटमा विपक्षीहरुको लिखित जवाफ समेत पेस भएकाले मुद्दाको अन्तिम सुनुवाइ नै गर्न उपयुक्त भएको भन्दै यस्तो आदेश गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी नगरेकाले शाहले उक्त रकम भने निकाल्न नपाउने भएका छन्।
यसअघि २०७८ साउन ५ गते न्यायाधीश मनोज शर्माको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउन आदेश गरेको थियो। वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा.लिको तर्फबाट शाहले रिट दायर गरेका थिए।
उक्त प्रकरणमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई रकम फुकुवाका लागि दबाब दिएका थिए। गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको प्रस्ताव स्वीकार गर्न नसकिने र अमेरिकादेखि उक्त पैसाको बारेमा पत्र आएकाले शंकास्पद धन भएको भन्दै रोक्का राखेका थिए। राष्ट्र बैंकले उक्त रकम रोक्काराखेपछि शाहले अर्थमन्त्रालयदेखि अन्य उच्च राजनीतिक पहुँचका आधारमा छुटाउन खोजेका थिए। तर यही विवादमा गभर्नर अधिकारी निलम्बनमा परेका छन्।
सरकारले छानबिन आयोग गठन गरेपछि उनी निलम्बनमा परेका हुन्। नेपाल राष्ट्र बैंक ऐन अनुसार सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरेपछि अधिकारी निलम्बनमा परेका हुन्। गभर्नर अधिकारी पनि सरकारको निर्णय विरुद्ध सर्वोच्च पुगेका छन्। उनको रिटमा भोलि सुनुवाइ हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।