काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ।
राखेपले आइतबार गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना निकालेको हो।
राखेपले यही वैशाख ११ गते भित्र लोगो, मस्कट, गीत रचना र नारा पेश गर्ने समयसिमा तोकेको छ। लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने बताइएको छ।
मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर तथा गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्ने सूचनामा उल्लेख छ।
छनोट भएका लोगोको डिजाइनरले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। त्यस्तै मस्कटको विजेता २५ हजार, गीत रचनाको विजेताले २० हजार र नाराको विजेताले १० हजार पाउने छन्।
पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।