काठमाडौं–वार्नर ब्रोज फ्रेन्चाइजअन्तर्गत निर्माण भएको फिल्म ‘ह्यारी पोटर’ मा ह्यारीको भूमिका निर्वाह गरेर चर्चा कमाएका अभिनेता डेनियल रेडक्लिफले निर्देशकको रुपमा डेब्यु गर्ने भएका छन्।
बेलायती अभिनेता डेनियलले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिँदै अब निर्देशकको रुपमा काम गर्न लागेको बताएका छन्। उनले आफूले लेखिरहेको फिल्मलाई लिएर आशावादी भएको र केही समयपछि नै निर्देशकको रुपमा डेब्यु गर्ने सोचमा रहेको बताएका छन्। आफू आगामी १८ महिनासम्म पूर्वनिर्धारित फिल्महरुमै काम गर्ने भएकाले त्यसपछि फिल्म निर्देशनमा डेब्यु गर्ने उनको भनाइ छ। डेनियलले फिल्मको कथावस्तु र नाम भने खुलाएका छैनन्।
३२ वर्षीय अभिनेता डेनियल बाल्यकालमै खेलेको फिल्म सिरिज ‘ह्यारी पोटर’ मार्फत् निकै चर्चामा आएका थिए। त्यसयता पनि उनले टेलिभिजन श्रृङ्खला र फिल्ममार्फत् प्रशंसा बटुलिरहेका छन्।
डेनियलले फिल्म निर्देशकको रुपमा डेब्यु गर्दा भने आफूले दर्शकसँग जोडिने कथा लेख्ने र त्यसैलाई निर्देशन गर्ने सोच रहेको बताएका छन्। उनले भने, ‘अरुले आफूलाई थाहा भएको र भोगेको लेख्न भन्नुहुन्छ। तर, मेरो जीवन अरुसँग जोड्न सकिने छैन। त्यसैले म दर्शकसँग सम्बन्ध राख्न सक्ने कथा लेखिरहेको छु।’
डेनियलले आफूले निरन्तर आफ्नै अनुहारमात्रै हेरिरहेकाले पनि फिल्म निर्देशनमा डेब्यु गर्न लागेको बताएका छन्। उनले आफू निर्देशनमा उत्रनुको मुख्य कारण यो काम कहिल्यै नगरेको र अभिनेताभन्दा निर्देशकको रुपमा फरक कथा भन्न सक्ने बताएका छन्।
उनको पछिल्लो फिल्म ‘द लस्ट सिटी’ शुक्रबारबाट बेलायतमा प्रदर्शनमा आएको छ। फिल्ममा उनीसँगै अभिनेत्री सान्ड्रा बुलक, चेन्निङ टटुम र ब्राड पिटको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।