काठमाडौं– गत मार्च ११ मा प्रदर्शनमा आएको हिन्दी फिल्म ‘द कश्मीर फाइल्स’को सफलतासँगै फिल्मका निर्देशक विवेक रञ्जन अग्नीहोत्रीले नयाँ फिल्मको घोषणा गरेका छन्।
निर्देशक अग्नीहोत्रीले ट्विटर मार्फत नयाँ फिल्म ‘द दिल्ली फाइल्स’ निर्देशन गर्ने घोषणा गरेका छन्।
निर्देशक अग्नीहोत्रीले आफ्नो पछिल्लो फिल्मको सफलताका लागि दर्शकदेखि निर्माण पक्षलाई धन्यवाद दिदैं नयाँ फिल्म निर्माणको समय भएको ट्विटरमा बताएका छन्। उनी लेख्छन्, ‘म द कश्मीर फाइल्सका लागि सबैलाई धन्यवाद दिन्छु। चार वर्षसम्म हामीले निकै मिहेनतले काम गयौं। अब मैले नयाँ फिल्ममा काम गर्ने समय आएको छ।’
उनले आफ्नो नयाँ फिल्मको नाम ‘द दिल्ली फाइल्स’ हुने बताएका छन्।
मुख्य गरि राजनीतिक विषयमा फिल्म बनाइरहेका अग्नीहोत्रीले केही वर्ष यता भारतको इतिहासलाई लिएर फिल्म बनाइरहेका छन्। उनले २०१९ मा ‘द तास्कन्त फाइल्स’ र २०२२ मा ‘द कश्मीर फाइल्स’ निर्देशन गरेका थिए। उनका यी दुवै फिल्म भारतको इतिहासलाई लिएर बनाइएको थियो।
अग्नीहोत्रीको विगतका फिल्मलाई आधार मान्दै उनका दर्शकहरुले आगामी फिल्म पनि भारतीय इतिहासकै विषयमा हुने अनुमान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।