काठमाडौं– २०७८ को सुरुवात फिल्म क्षेत्रका निम्ति सुखद थिएन। महामारीका कारण फिल्म क्षेत्रमा परेको प्रभाव कम भए पनि वर्षको अन्तिममा भारतीय फिल्मको दबदबा बढेको छ। निर्मातादेखि निर्देशकसम्मले यो वर्षलाई ‘दक्षिण भारतीय फिल्मको दबदबा बढेको वर्ष’को रुपमा लिएका छन्।
एकातिर महामारीपछि फिल्म क्षेत्रमा भएको सुरुवातको सकरात्मक पाटो छ भने अर्कातिर नेपाली फिल्ममा दर्शकको अभाव देखिएको पाटो। कतिपय सिनेकर्मीले फिल्म क्षेत्रमा नयाँ कथाको आवश्यकता महसुस भएको र त्यसको निम्ति पहिलो पाइला यो वर्ष सुरुवात भएको बताइरहेका छन्। कतिपयले भने नेपाली फिल्मको अस्तित्व नै सकिने अवस्थामा आएको तर्क पनि अघि सारेका छन्। महामारीको ‘कालो बादल’ले सिनेमा क्षेत्र गत वर्ष पनि विभिन्न पक्षहरुको दोधारमा घेरिएको छ।
महामारीपछिको आगमन
दुई वर्षअघि सुरु भएको कोरोना महामारीको प्रकोपका कारण सरकारले सबैभन्दा धेरै समयसम्म फिल्म क्षेत्रमै प्रतिबन्ध लगाइरह्यो। फिल्मको छायांकनको काममा सुरुवा भएपनि फिल्म हल चलाउने विषयमा स्पष्ट सरकारी निर्णय नहुँदा फिल्म हल सञ्चालन र सिनेकर्मीहरु नै दोधारमा थिए।
सरकारले असोज २१ गते महामारीका कारण बन्द रहेका देशभरका सिनेमा हललाई सञ्चालनमा आउने अनुमति दियो। तर, फिल्म हलमा प्रदर्शनका लागि नेपाली फिल्मको अभाव थियो। जसकारण सिनेमा हल सञ्चालनमा ल्याउने अनुमति दिएपनि फिल्म भने लाग्न सकेनन्। विदेशी फिल्मको सहारामा हल सञ्चालनमा त आए। तर, महामारीले सिथिल बनेको नेपाली फिल्म क्षेत्र तात्ने नाम थिएन्। विगतमा प्रदर्शनको मिति तोकिसकेका फिल्महरु पनि महामारीको मारमा परेको सिनेमा हलसम्म दर्शक नआउने डरले फिल्म चलाउन सकेनन्।
असोज २६ मा मात्रै नेपाली फिल्मले सिनेमा हलमा प्रदर्शन हुने जमर्को गरे। दुई फिल्म ‘धन्धागिरी’ र ‘डाँडाको वरपिपल’ फिल्म हलमा लागे। सोभित बस्नेतको निर्देशनमा बनेको ‘डाँडाको वरपिपल’ र नरेन्द्र भट्टराईको निर्देशनमा बनेको ‘धन्धागिरी’ सो दिन प्रदर्शनमा आएका थिए।
महामारीको मारबाट जसोतसो उठेर फिल्महरु छायांकनदेखि प्रदर्शनसम्म आएका छन्। तर, महामारी पछि सिनेमा क्षेत्रले जुन लय समात्नुपर्ने थियो, त्यो भने समातेको देखिएन्। यो वर्ष फिल्म हलमा लागेका फिल्महरुमा परम्परागत शैली र कथाको प्रस्तुतीकै वर्चश्व हुनु त्यसको एउटा कारण थियो। अर्कातिर, प्रयोगवादी फिल्महरु विदेशी फिल्मको चेपुवामा परे।
असोज यता चैतसम्म फिल्म हलमा १३ नेपाली फिल्म लागिसकेका छन्, केही फिल्महरु ओटिटीमाध्यमबाट पनि प्रदर्शन भएका छन्। मनोज पण्डितको निर्देशनमा बनेको फिल्म ‘एक’ र धुर्मुस–सुन्तलीको फिल्म ‘म त मर्छु कि क्या हो’ले ओटिटीमाध्यमबाट प्रदर्शन हुने जमर्को गरेका थिए। तर, ओटिटि माध्यम नेपाली फिल्म प्रदर्शनको निम्ति नयाँ प्रविधि थियो। दर्शकले यस माध्यमबाट प्रदर्शन भएका फिल्महरुप्रति खासै चासो पनि देखाएनन्।
दुवै माध्यमबाट प्रदर्शनमा आएका फिल्महरुको सफलता देख्न सकिएन्। यीमध्ये अधिकांशको व्यापार सफल छैन।
पछिल्लो केही महिना यता प्रदर्शनमा आएका नेपाली फिल्महरुलाई भने दक्षिण भारतीय फिल्महरुले दबाएका छन्। ‘पुष्पा’देखि ‘आरआरआर’को प्रदर्शन हुँदासम्म सिनेमा हलमा लागेका नेपाली फिल्महरु लगानी पनि उठाउन नसक्ने अवस्थामा फ्लप भएका छन्। सिनेकर्मीले पनि नेपाली फिल्म क्षेत्रमा दक्षिण भारतीय फिल्मको असर परेको तर्क अघि सारेका छन्।
महामारीपछि जब फिल्म क्षेत्र आफ्नो पुरानै लयमा फर्कियो, तब धेरैले आशाको किरण देखेका थिए। तिहारमा प्रर्दशनमा आएको बलिउड फिल्म ‘सूर्यवंशी’को प्रदर्शनसँगै सिनेमा हलमा दर्शक आउने देखेका निर्माता तथा निर्देशकहरुले धमाधम आफ्नो फिल्मको प्रदर्शन मितिको घोषणा पनि गरे।
तर, जब प्रदर्शनको समय आयो, अधिकांश फिल्महरु फ्लप भए। यी फिल्महरुमा भएको कथा पुरानै थिए। महामारीका कारण दर्शकले जति अन्तराष्ट्रिय सिनेमासँग साक्षातकार हुने मौका पाएका थिए, त्यो स्तरका सिनेमा नेपाली बजारमा उत्पादन भएका थिएनन्। जसकारण फिल्म हलमा लागेका अधिकांश फिल्महरु लाग्न नपाउँदै उत्रिन पुगे।
सिनेक्षेत्रमा देखिएका नयाँ पन
वर्षभरि नै प्रदर्शनमा आएका फिल्महरु सिनेमा हलमा व्यवसायिक रुपमा असफल भएपनि यो वर्ष फिल्म क्षेत्रले केही सकरात्मक पक्षको पनि साक्षातकार गर्न पाएको थियो । निर्देशक तथा फिल्म विश्लेषकको भनाईमा यो वर्ष फिल्म क्षेत्रका यी पाटाहरुका कारण धेरै निराशाजनक हुन सकेन्। उनी भन्छन्, ‘फिल्म क्षेत्रमा यो वर्ष नयाँ विधा र नयाँ पनसहितका केही सिर्जना आए। प्रयोगवादी कदमको सुरुवात भएकाले यो वर्षलाई धेरै निराशाजनक भन्न मिल्दैन्।’
वर्षभर प्रदर्शनमा आएका फिल्महरुमध्ये केही फिल्ममा नयाँ कथा र नयाँ शैलीलाई समेटिएको थियो। थ्रिलर विधामा ‘चपली हाइट ३’देखि हरर विधामा ‘कठपुतली’जस्ता फिल्महरु पनि यो वर्ष प्रदर्शनमा आएका थिए। सँगै ‘चिसो एस्ट्रे’जस्तो फरक किसिमको फिल्म पनि यो वर्ष नै प्रदर्शनमा आएको थियो। यी फिल्महरुले नेपाली फिल्ममा भएको परम्परागत शैली र सोचको विपरितका कथाहरुलाई समेट्ने मात्रै नभएर फरक शैलीमा पनि प्रस्तुती दिन खोज्ने प्रयास गरेका थिए।
निर्देशक पण्डित यसलाई सुःखद सुरुवात मान्छन्। उनी भन्छन्, ‘हाम्रो फिल्म क्षेत्र बल्ल बामे सर्दै छ। यो वर्ष केही नयाँ विधाहरुमा फिल्महरु बने। यीनिहरुले पनि नयाँ बाटोको सुरुवात गरेका छन्।’
प्रदर्शनमा आएका अधिकांश फिल्महरु महामारीभन्दा अगाडी नै छायांकन भएका कारण यी फिल्महरुमा पुरानै शैली र कथाहरुको चित्रण थियो। तर, तीमध्ये केही भने फरक शैलीलाई लिएर आएका थिए। निर्देशक पण्डित यीनै कारण पनि फिल्म क्षेत्र धेरै निराशाजनक नभएको बताउँछन्।
प्रदर्शनमा आएका अधिकांश फिल्म फ्लप
गत असोज यता फिल्म हलमा प्रदर्शनमा आएका १४ मध्ये एक फिल्मले मात्रै व्यापारिक रुपमा केही सफलता पायो। पल शाहविरुद्ध परेको बलात्कारको उजुरीका कारण ‘म यस्तो गीत गाउँछु २’ फिल्म चर्चामा आयो। फिल्मका मुख्य नायक नै विवादमा परेपछि फिल्म पनि चर्चाको विषय बनेको थियो। जसकारण फिल्मले हलमा पनि उल्लेखनिय दर्शक पाएका थियो। फिल्मको निर्माण पक्षले गरेको दाबीका अनुसार फिल्म चार हप्तासम्म सफल रुपमा प्रदर्शन भएको थियो भने ४ करोडभन्दा धेरैको व्यावसाय गरेको थियो।
तर, त्यस बाहेकका फिल्महरु भने खासै सफल हुन सकेनन्। भिमसेन लामाको निर्देशनमा बनेको ‘कठपुतली’ केही हदसम्म फिल्म हलमा दर्शक तान्न सफल भएको थियो। तर, व्यावसायिक रुपमा भने फिल्मको पनि ठूलो आम्दानी देखिएको थिएन्।
असोज २१ मा सिनेमा हल खुलेसँगै असोज २६ बाट प्रदर्शनमा आएका ‘धन्धागिरी’ र ‘डाँडाको वरपिपल’ले केही दिनमात्रै फिल्महलमा चल्न पाए। दसैंको छेको पारेर प्रदर्शनमा आएका दुई फिल्म फ्लप हुँदा तिहारको समयमा भने कुनै पनि फिल्म प्रदर्शनमा आउन सकेनन्।
कात्तिकमा तिहारको छेकोमा नेपाली हलमा रोहित शेट्टी निर्देशित बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आयो। फिल्मले नेपालमा निकै राम्रो व्यापार गरेको थियो। उक्त फिल्मको सफलतासँगै निर्देशक निर्माताले आफ्नो फिल्मको पनि प्रदर्शन मिति तोक्न थालेका थिए। तर, प्रदर्शन भएका फिल्महरुको व्यापारिक सफलता भने भएन्।
मंसिर १७ मा प्रदर्शनमा आएको ‘ओभरडोज’ले हलमा चर्चा नपाउँदै हट्नु परेको थियो। सुमन पौडेलको निर्देशनमा बनेको यो फिल्मलाई अमेरिकामा छायांकन गरिएको थियो भने फिल्ममा प्रेम र द्वन्द्वको कथा समेटिएको थियो। तर, फिल्म दर्शक माझमा पुग्नु अगावै फिल्म हलबाट फ्लप भएको थियो।
माघ १९ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु’ले केही हदसम्म अन्य फिल्मको भन्दा व्यापारिक सफलता पायो।
पुस २ मा प्रदर्शन मिति तोकिएको ‘चपली हाइट २’ भने पटक पटक सर्न बाध्य भयो। कहिले सँगै नेपाली फिल्म जुँधेर त कहिले दक्षिण भारतीय फिल्मसँगै प्रदर्शन हुँदा दर्शक नपाउने डरले फिल्म सर्नु परेको थियो। पुस २ पछि पुस १५ मा प्रदर्शन मिति तोकिएको फिल्म अन्ततः पुस ३० मा प्रदर्शनमा आएको थियो।
तर, लगत्तै कोरोना महामारीको क्रास बढ्दै गएका कारण सरकारले पुनः फिल्म हललाई बन्द गर्ने निर्णय गर्दा अर्जुन कुमारको लगानी तथा निकेश खड्काको निर्देशनमा बनेको फिल्मले हलमा खासै सफलता पाउन सकेन्।
‘चपली हाइट ३’ महामारीपछि पुनः प्रदर्शनमा त आयो। तर, फिल्मले हलमा दर्शक तान्न सकेन्। फिल्मका निर्माता अर्जुन कुमार भन्छन्, ‘मेरो फिल्म महामारीका कारण चल्न सकेन्। पटक पटक हलमा लाग्दै र हट्दै गर्नुपर्ने भएका कारण फिल्मसम्म दर्शक आउन पाएनन्।’
यो वर्ष फिल्म हलमा ‘धन्धागिरी’, ‘म यस्तो गीत गाउँछु’, ‘कठपुतली’, ‘चिसो एस्टे«’, ‘लप्पन छप्पन २’, ‘धुम ४’, ‘सकिनँ भूल्न तिमीलाई’, ‘चुरीफुरी’, ‘ओभरडोज’, ‘मैले आइ लभ यु भन्नै सकिनँ’, ‘चपली हाइट ३’, ‘हेल्लो जिन्दगी’ र ‘आकाशे खेती’ फिल्म प्रदर्शनमा आएका थिए। तर, यीमध्ये ‘कठपुतली’ र ‘म यस्तो गीत गाउँछु’बाहेकका फिल्म खासै चर्चामा सम्म आउन सकेनन्। ‘चिसो एस्ट्रे’ फिल्मले समीक्षात्मक रुपमा राम्रो प्रतिक्रिया पाएको भएपनि व्यवसायिक रुपमा भने सफल हुन सकेन्।
बढ्दो दक्षिण भारतीय फिल्मको प्रभाव र खड्किएको मौलिकताको अभाव
यो वर्ष नेपाली फिल्म क्षेत्रमा दक्षिण भारतीय फिल्मको प्रभाव सबैभन्दा महत्वपूर्ण पाटोको रुपमा देखियो। वर्षभर चलेका नेपाली फिल्महरुलाई नै दबाबमा पार्ने किसिमले दक्षिण भारतीय फिल्मको प्रभाव नेपाली फिल्म क्षेत्रमा देखियो।
त्यसो त नेपाली फिल्म क्षेत्रमा दक्षिण भारतीय फिल्मको प्रभाव पछिल्लो पटक हलमै देखिएको छ। युट्युबको ट्रेण्डिङ पेजबाट सिनेमा हलसम्म नै फिल्मको दबदबा देखिएको छ।
पछिल्लो पटक ‘चपली हाइट ३’को प्रदर्शनका क्रममा दक्षिण भारतीय फिल्मको प्रभाव देखिएको थियो। त्यो बेला दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’ पनि प्रदर्शन भएको थियो।
महामारीपछि बलिउड फिल्म ‘सूर्यवंशी’ प्रदर्शनमा आउँदा दर्शक हलसम्म पुगेका थिए। त्यसपछि नेपाली फिल्मको प्रदर्शन पनि तोकिएको थियो। तर, पुस २ गते तोकिएको अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशनमा बनेको फिल्म ‘चपली हाइट ३’ भने दक्षिण भारतीय फिल्मका कारण प्रदर्शत मिति सार्न बाध्य भएको थियो।
फिल्मका अर्जुन कुमारले दक्षिण भारतीय फिल्मलाई आफ्नो फिल्मसँग जुँधाएको भन्दै ‘चपली हाइट ३’लाई प्रदर्शनबाट पनि सार्न बाध्य भएका थिए। ‘पुष्पाः द राइज’को प्रदर्शनमा नेपाली दर्शकले दक्षिण भारतीय फिल्मप्रतिको रुचि देखिएको थियो। फिल्मले दर्शकलाई फिल्म हलमा तान्ने मात्रै नभएर दक्षिण भारतीय फिल्मको हलसम्मको यात्रालाई थप बलियो बनाएको थियो।
‘पुष्पाः द राइज’मा देखिएको दर्शकको रुचिसँगै दक्षिण भारतीय फिल्मको नेपालप्रतिको आगमन पनि बढ्दै गयो। ‘पुष्पा’पछि ‘वलिमै’, ‘राधेश्याम’ र ‘आरआरआर’जस्ता दक्षिण भारतीय फिल्म नेपालमा प्रलदर्श भएका थिए। पछिल्लो पटक प्रदर्शनमा आएको ‘आरआरआर’ले दुई दिनमै नेपाली फिल्म हलमा दुई करोडको व्यापार गरेको थियो।
फिल्मकर्मीदेखि दर्शकमाझमै बढ्दै गएको दक्षिण भारतीय फिल्मको प्रभाव यो वर्ष चरम बिन्दुमा पुगेको छ। फिल्मकर्मीहरु यो प्रभावका कारण डराएका छन्। वैशाख १ बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’सँगै दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ प्रदर्शनमा आउन लाग्दा फिल्मका निर्माता तथा निर्देशकसँगै कलाकारहरु पनि विभिन्न शैलीमा फिल्मको प्रचार गर्नमा व्यस्त देखिएका छन्। राष्ट्रवाददेखि देशप्रेमजस्ता विपषयलाई समेटेर फिल्मको प्रचार भइरहेको छ। फिल्मका अभिनेता अनमोल केसी सार्वजनिक रुपमै ‘नमिठो खाउँ तर नेपाली खाउँ। नेपाली फिल्म हेरौं’जस्ता तर्कहरु पनि दिदैं फिल्मको प्रचरमा लागेका छन् ।
दक्षिण भारतीय फिल्मको बढ्दो प्रभावको विषयलाई लिएर फिल्मकर्मीहरुमा आफ्नै आफ्नै धारणाको पनि यो वर्ष विकास भएको छ।
निर्माता अर्जुन कुमार सामुहिक रुपमा नबोल्दा दक्षिण भारतीय फिल्मको प्रभाव बढ्दै गएको बताउँछन्। उनी भन्छन्, ‘म एक्लै बोल्दा कोही बोलेन्। सामुहिक रुपमा नबोल्दा दक्षिण भारतीय फिल्मको प्रभाव बढ्दै गएको छ। यस्तोमा नेपाली फिल्म खतरामा छ।’
तर, अर्का फिल्मकर्मी अविरल थापा भने नेपाली फिल्म क्षेत्रमा मौलिक कथाको अभावमा दर्शकले मज्जा लिन सक्ने प्रस्तुती नभएका कारण अन्य देश वा प्रान्तका फिल्महरुको दबदबा यहाँ बढिरहेको बताउँछन्। उनी भन्छन्, ‘न अरुको जस्तो छ न हाम्रो जस्तो छ नेपाली फिल्म। यसो भएपछि दर्शक हलमा गएर हेरिरहनै परेन्। जबसम्म हामीले हाम्रो मौलिक कथामा चलचित्र बनाउँदैनौं, तबसम्म दर्शकले मज्जा लिन सक्दैनन्। किनकी दर्शक हलिउड, बलिउड र दक्षिण भारतकै गज्जव फिल्महरु विभिन्न माध्यमबाट हेर्न सकिरहेका छन्।’
थापा आफ्नो सिर्जना मौलिक र बलियो नहुँदासम्म सबैतिरबाट खतरा बढ्ने बताउँछन्।
निर्देशक पण्डित बढ्दै गएको दक्षिण भारतीय फिल्मको विषयलाई लिएर फिल्मकर्मीहरुले गरिरहेको गुनासोको विषयमा दर्शकले आफूलाई रुचि लाग्ने सिनेमा हेर्ने हुँदा नेपालमा यस्तो सिनेमाको अभावमा अन्य सिनेमाहरु चलिरहेको बताउँछन्।
‘हामी मनोरञ्जनात्मक र रोचक सिनेमाहरु बनाउनभन्दा पनि आफ्ना कमजोरीहरु लुकाउनमा ध्यान दिइरहेका छौं,’ उनी भन्छन्, ‘यो कुरामा फिल्म चल्दैन्। यो असफल हुन्छ र हुनैपर्छ। नेपाली भएको नाउँमा वर्षौदेखि फिल्म हेर्न लगाएर नेपाली फिल्म क्षेत्रलाई घाटा परेको छ। फिल्मलाई माया गर्ने होइन्, फिल्मलाई रमाइलोको लागि हेर्ने हो। फिल्मलाई माया गर्ने भन्ने वित्तिकै दयाको कुरा आउँछ। तर, माया गर्नका लागि त फिल्म माया गर्न लायक हुनुपर्यो नि?’
पण्डित थप्छन्, ‘नेपाली फिल्मलाई माया गरौं भन्नेहरुको मर्म नेपाली फिल्मलाई दया गरौं भन्ने हो। दया गरौं भन्ने वित्तिकै आफू कमजोर छौं भन्ने कुरा आउँछ। आफ्नो कमजोरीलाई माग्ने भाडो बनाइएको छ। माया गर्न लायक भएमा सबै दर्शकले माया गर्छन्।’
स्टारडमको आडमा भएको अपराधको पहिचान
फिल्म क्षेत्र फिल्मइतरको विषयलाई लिएर पनि यो वर्ष निकै तातेको थियो। अभिनेता पल शाहविरुद्ध परेको बलात्कारको उजुरी र उनी पक्राउ भएको विषयले पनि यो वर्षको अन्त्यतिर फिल्मक्षेत्रमा गर्मि बढाएको थियो।
शाह गत फाल्गुन १५ गते पक्राउ परेका थिए। उनी विरुद्ध तनहुँमा एक नाबालिग गायिकाले आफूलाई जर्बजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्। सो मुद्दालाई लिएर शाह पक्राउ परेको विषयले पनि यो वर्ष फिल्म क्षेत्र घेरिएको थियो।
शाहको पक्राउले फिल्म क्षेत्रलाई नै दुई समूहमा बाँडेको थियो। सो बेला प्रदर्शनको क्रममा रहेको उनको फिल्म ‘म यस्तो गीत गाउँछु २’को निर्माण पक्ष भने उनको पक्राउको विषयलाई बजारमा लिलाम गर्दै फिल्ममा दर्शक तानिरहेका थिए भने केही अभिनेत्री तथा कलाकारहरुले भने पिडित बालिकाले बोल्ने आँट गरेको हुँदा काुननको पक्ष लिनुपर्ने तर्क अघि सारेका थिए।
फिल्म निर्देशक पण्डित यो घट्नालाई सिनेमा क्षेत्रको वास्तविकता अघि ल्याउने घट्नाको रुपमा विश्लेषण गर्छन्।
‘हाम्रो सिनेमा क्षेत्रको ठूलो दुर्भाग्य भनेको यहाँ यौनजन्य गतिविधिहरु अति धेरै मात्रामा हुनु पनि हो,’ उनी भन्छन्, ‘फिल्म क्षेत्र भन्ने वित्तिकै सुरुमा सेक्स भन्ने कुरालाई सर्वसाधारणले बुझ्छन्। यो फिल्म क्षेत्रको दुर्भाग्य हो। यस्तो केही फोहोरहरु बढारिनु पर्छ।’
सिनेक्षेत्रमा वर्षौदेखि लुकेको र भइरहेको घट्ना यो वर्ष कानुनी स्तरमा आएको छ। यो घट्नाले सर्वसाधारणलाई पनि स्टारडमको आडमा हुने अपराधको विषयमा जानकार गराएको निर्देशक पण्डित बताउँछन्। उनी भन्छन्, ‘राज्यले जति गरेपनि जनतालाई चेतना दिन सकेको थिएन्। नाबालिगमाथि हुने हिंसा बारे सर्वसाधारण जानकार थिएनन्। तर, यो घट्नाले जनतालाई यो विषयमा पनि जानकार गराएका छन्। स्टारडमको विषयमा जे सुकै गर्न हुन्छ भन्ने विषयमा भएको भ्रमलाई पनि यो वर्ष पखाल्ने काम भएको छ।’
यो वर्ष फिल्म क्षेत्रमा सकरात्मक परिवर्तन आएको छ
मनोज पण्डित, निर्देशक तथा फिल्म विश्लेषक
हामी कथामा नै कमजोर भयौं। हामी यो वर्ष मात्रै नभएर विगतमा पनि कमजोर नै थियौं र भइरहेका छौं। यो वर्ष ठूलो फरकपन देखिएको होइन्। तर, यो वर्ष सुःखद कुराहरु भएका छन्। केही जन्रहरुमा फिल्महरु बनेका छन्। लामो समयपछि केही उत्साहसहित हरर जन्रमा फिल्म बनेको थियो।
यो वर्षको अर्को सुःखद पाटो भनेको स्टारडमको उपयोग गर्दै कसैले पनि गैरकानुनी काम गर्न हुँदैन भन्ने पनि देखाएको छ। यस्तो गरेमा कानुनको भागेदार हुनुपर्छ भन्ने देखियो। सिनेमा क्षेत्र भन्न साथ यौनसँग जोडेर बुझ्ने गरेका छन् र यो हाम्रो दुर्भाग्य हो। यस्ता केही फोहोरहरु बढारिनु पर्छ।
यो वर्ष सिनेमा क्षेत्रमा वर्षौदेखि लागेर नहटेको दागलाई पहिचान गर्ने काम भएको छ। राज्यले जति काम गरेपनि जनतालाई चेतना पुर्याउन सकेको छैन। नाबालिग माथि हुने यौनजन्य क्रियाकलापको विषयमा हुने सजायको बारेमा सरकारले गरेका कामले त्यत्ति फलदायी अवस्था ल्याएको छैन। तर, यो वर्ष भएको फिल्म क्षेत्रकै ठूलो घट्नाले जनतालाई पनि नाबालिगमाथि कुनै किसिमको यौनजन्य क्रियाकलाप भएमा कारबाही हुन्छ भन्ने बुझाएको छ । फिल्म क्षेत्रमा लागेको वर्षौदेखिको दाग पखाल्ने पहिलो कदम चालिएको छ।
यो वर्ष विस्तारै फिल्म क्षेत्र एक कदम अघि बढेको छ। किनभने यहाँ धेरै कुरा मान्छेले बुझेका छन्। यहाँ स्टारडमले पुग्दैन भन्ने कुरा मान्छले बुझेका छन्। संसारका सिनेमासँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ, त्यसका लागि हाम्रा सिनेमा र सिर्जनशिलतामा काम गर्नुपर्छ भन्ने बुझ्न थालेका छन्।
हाम्रो स्टोरी, स्क्रिनप्ले र डायलगमै कमजोरी छ। यी कुराहरुमा हामी चुकिरहेका छौं भन्ने कुरा हामीले यो वर्ष बुझेका छौं। नयाँ सोचहरुमा काम गर्नुपर्छ भन्ने कुराको विकास यो वर्ष भएको छ।
अब सिनेमामा सिर्जनशिलताको विकास हुन्छ। सिर्जनशिल मान्छेहरुले बनाउने फिल्महरुको संख्यामा बृद्धि हुने सम्भावना यो वर्षका घट्नाहरुले देखाएका छन्। विगतमा रहरले फिल्महरु बनिरहेका थिए। अरुकै देखासिकीमा फिल्महरु बनिरहेका थिए। अब यसरी चल्दैन भन्ने कुरा यो वर्षले देखाएको छ।
अबको दुई तीन वर्ष यस्तै भूमरीमा हुनेछौं। कोरोनाका कारण थोपरिएका सिनेमाहरु फिल्टर हुन यो समय लाग्छ। यी सिनेमाहरुसँगै पुराना सोचहरु छन्। यी कुराहरु नेपाली जनताले नै बडार्ने हो। त्यसका लागि केही समय लाग्छ।
तर, यो सबैको सुरुवात यो वर्ष भएको छ। अब १० वर्षअघि हामीले भन्ने गरेको फिल्महरु अब बन्ने देखिएको छ। यो सबैको सुरुवात यो वर्ष भएको छ।
यो वर्ष फरक विधामा फिल्महरु बनेका छन्। यसले अब थुप्रै कामहरु हुने देखाएको छ। अब हामीले नविन सोचहरुमा काम गर्ने सुरुवात भएको छ। यस्ता नयाँ सोचहरुमा फिल्म बन्नुपर्छ भन्ने यो वर्ष हामीले देखेका छौं। सोच नै चोरेर फिल्म बनाउनु हुँदैन भन्ने हामीले देखेका छौ। विगत लामो समयदेखि सोच नै चोर्ने भन्ने जुन आरोप नेपाली फिल्ममा लाग्थ्यो त्यो कुरा यो वर्षदेखि फेरिदैं गएको छ।
फिल्म क्षेत्रमा नयाँ मान्छे आएका छन्। नयाँ सोच छ।वर्षबाट सुरुवात भएको यो कुरा विस्तारै अघि बढ्ने छ। तर, यत्तिले मात्रै नभएर सिर्जनशिलताको पनि प्रयोग हुनुपर्छ।
फिल्मकर्म भनेको सिप भएका जनशक्तिले गर्ने काम हो भन्ने कुरा नेपाली फिल्मक्षेत्रले बुझ्न आवश्यक भएको छ। विस्तारै यो कुराको अनुभव पनि भएको छ। यी कुराहरुको स्थापना विस्तारै भएको देखिएको छ।
अब फिल्म रहरले होइन्, सिपले बन्नुपर्छ। अहिलेसम्म रहरले फिल्म बनिरहेको थियो। तर, रहर भएकाहरुसँग सिप हुन्छ भन्ने होइन्। सिप भएकाहरुले काम पर्दा रहर जगाएर काम गर्न सक्छन्।
अर्कातिर यो वर्ष नेपाली फिल्म भएकै कारण हेरिदिनुपर्ने कुरा पनि उठिरहेको छ। नेपाली फिल्मलाई वर्षौसम्म पछि पारेको कुरा ‘नेपाली फिल्मलाई माया गरिदिनु’भन्ने नै हो । हामी रोचक सिनेमा बनाउनभन्दा बढि हाम्रा कमजोरी लुकाउन अरु कुराको सहारा लिएका छौं। यो असफल हुन्छ र हुर्नैपर्छ। यहि नेपाली भएकै कारण फिल्म हेरिदिनु भन्ने वर्षौदेखिको तर्कले नै फिल्म क्षेत्रलाई घाटा पारेको छ।
सिनेमालाई माया गर्ने होइन्, सिनेमाको मज्जा लिने हो। सिनेमालाई अनुभव गर्ने हो ।फिल्मकर्मीहरुले दया खोजिरहेका छन्। माया गर्नलाई फिल्म माया गर्न लायक हुनुपर्छ।
वास्तवमा नेपाली फिल्मलाई माया गरौं भन्नेहरुले नेपाली फिल्मलाई दया गरौं भनेको हो। दया गरौं भन्ने वित्तिकै हामी कमजोर छौं र हाम्रो कमजोरीलाई माग्ने भाडो बनाएका हौं भन्ने हो। नेपाली फिल्मलाई माया गर्नका लागि नेपाली फिल्म माया गर्न लायक पनि बनेको हुनुपर्छ। फिल्म चलाउनलाई माया गरौं भनेर हुँदैन्। फिल्मलाई माया गर्न हामीले आफ्ना फिल्मको गुण विकास गर्नमा लाग्नुपर्छ। राम्रो बनेपछि नेपाली फिल्मलाई नेपालबाट मात्रै होइन् विदेशीले पनि माया गर्छन्।
यी सबैका बीच सिनेमाका सिल्पकारहरुले फिल्म बनाउने कामको सुरुवात यो वर्ष भएको छ। यो वर्ष निराशाको वर्ष होइन्। सोचमा आशाका कुराहरु देखेका छु। नयाँ पनको सुरुवात यो वर्ष भएको छ।
यो वर्षलाई आशाको प्रारम्भ हो भन्ने रुपमा लिन आवश्यक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।