काठमाडौं – सुदूरपश्चिको धनगढीमा शुक्रबार नेपाली कम्युनिस्ट पार्टीले पहिलोपटक सन्देश सभा आयोजना गरेको छ।
उक्त सभामा सम्बोधन गर्ने क्रममा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताए।
यसअघि आज जस्ता सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकिएको प्रचण्डको भनाइ छ।
‘आज हामीलाई कता–कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो। तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं। बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्यून हुने हो कि भन्ने चिन्ता थियो। अर्कोतिर सुरक्षा व्यवस्था एक दुई दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सोसियल मिडियाबाट हेरिरहेका थियौं। सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो। तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो,’ उनले भने।
त्यस्तै उनले १५ वटा वाम घटकलाई एक ठाउँमा ल्याएर आफूहरूले रेकर्ड नै बनाएको जिकिर गरे।
उनले भने, ‘हाम्रो ध्यान एमालेतिर पनि छ, एमालेभित्रका सबै वामपन्थी, देशभक्त र क्रान्तिकारीहरू पनि यही पार्टीमा नै केन्द्रित हुनुपर्छ भन्ने जोड छ। सबैलाई अट्न सक्ने भएकाले नेपाली कम्युनिस्ट पार्टी राखेका हौँ। यहाँ अब कोही माओवादी छैन, अब कोही एकीकृत समाजवादी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।