काठमाडौं– नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बनेको छ।
जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्लु अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर २०२१ बाट सम्मान गरेको कम्पनीले जानकारी दिएको छ।
जेसीबी युकेका निर्देशक जर्ज बामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्त रुपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु अग्रवालले सबैको साथ र सहयोगमा एमएडब्लु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए।
‘हामीलाई विश्वास छ, हाम्रा ग्राहक, सरोकारवाला र कर्मचारीको निरन्तर साथ रहेमा हामी अझ धेरै सफलताको उचाइमा पुग्नेछौं’, उनले भने।
एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्वील लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभी इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ। नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।