यो घटना सम्पत्ति हत्याउन गरिएको विश्वासघात, छोरा गुमाएको परिवारको भावनासँगको खेलबाड र धोकाको यस्तो कहानी हो, जो कुनै फिल्मको स्क्रिप्टभन्दा कम छैन। भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारको गृहजिल्ला नालन्दाबाट आएको यो खबरले त्यही गाउँका मानिसहरूलाई पनि आश्चार्यमा पारेको छ।
कसैको सम्पत्ति हत्याउन ४० वर्षसम्म धैर्यपूर्वक सम्बन्धलाई गुमराहमा राखिएको छ। आफ्नो छोरा हो या होइन निश्चित नहुँदै बाबा र आमा दुवैले ज्यान गुमाए। छोरा भएर बसेका व्यक्तिले परिवारको करिब एकतिहाई अर्थात् ५५ बिगाहा जमिन बेचे। त्यही परिवारको नामबाट बिहे गरेर नाता सम्बन्ध गाँसे। यो कहानी एक लाइन कथा होइन, धोकाको ठूलो पुलिन्दा नै हो।
नालन्दामा दयानन्द गोसाईं नाम गरेका व्यक्ति ४१ वर्षदेखि नक्कली छोरा बनेर कामेश्वर सिंहको घरमा बसेका थिए। ४० वर्षको कानुनी लडाइँपछि बल्ल उनी छोरा नभएको प्रमाणित भएको छ। सम्पत्तिको लोभमा परिवारको भावनासँग खेलबाड गर्ने गोसाईंलाई नालन्दा अदालतले तीन वर्षको जेल सजाय तोकेको छ।
यो घटना नालन्दा जिल्लाको सिलाव थाना क्षेत्रमा पर्ने मोरगाँउको हो। उक्त गाउँमा करिब १५० बिगाहा जमिनका मालिक स्वर्गीय कामेश्वर सिंहको सम्पत्तिसँग घटनाको सम्बन्ध छ।
साधु बनेर आए, छोरा बनेर बसे
कामेश्वर सिंहका एक मात्र छोरा कन्हैया सिंह थिए। उनको जीवनमा त्यति बेला दुःखद् मोड आयो, जब सन् १९७७ मा मैट्रिक परीक्षा दिएपछि छोरा कन्हैया हराए। धेरैतिर खोजी गर्दा पनि भेटिएनन्। त्यसपछि परिवारले सिलाव थानामा उजुरी दिए।
एक मात्र छोरा हराएपछि परिवार तनावमा थियो। खोजबिन गर्दागर्दै चार वर्ष बितिसकेको थियो।
यसैबीच, सन् १९८१ मा छिमेकी गाउँ केशोपुरमा एक युवा साधु आए। ती साधुले आफूलाई उनै हराएका कन्हैया बताए। लगातार यही कुरा दोहोर्याइरहेपछि खूब प्रचार भयो। बाबु कामेश्वर सिंह त्यति बेला जीवित थिए। उनी साधुलाई भेट्न छिमेकी गाउँ पुगे।
ती युवक तथा अन्य व्यक्तिले साधु आफ्नै छोरा भएको बताएपछि कामेश्वरले पनि पत्याए र घर लिएर आए। आमा रामसखी देवी पनि त्यस बखत जीवितै थिइन्। उनले साधु आफ्नो छोरा नभएको बताइन्। तर, गाउँलेको दबाबका कारण उनी चुप भइन्।
कन्हैया भएर आएका ती व्यक्ति दयानन्द गोसाईं थिए। उनी कामेश्वर परिवारको एक मात्र हकवाला भएर त्यही घरमा बस्न थाले। यद्यपि, आमा रामसखीले उनलाई कन्हैया स्वीकार गरिनन् र उनीमाथि लगातार अविश्वास गरिरहिन्।
१९८१ नोभेम्बरमा उनको धैर्य टुट्यो। उनले गोसाईंविरुद्ध सिलाव थानामा उजुरी दर्ता गराइन्। १९९१ नोभेम्बरमा पटना जिल्ला अदालतमा मुद्दा दर्ता भयो। मुद्दा चलिरहँदा सन् १९९५ मा कामेश्वर र उनकी पत्नी रामसखी दुवैको मृत्यु भयो। आफूमाथि धोका दिनेलाई घरमै राखेर उनीहरूले संसार छाडेर गए।
छोरीले सम्हालिन् कानुनी मोर्चा
आमा–बुवाको मृत्युपछि कन्हैयाकी बहिनी विद्याले कानुनी लडाइँ जारी राखिन्। यसबारे विद्या देवीको भनाइ जान्ने कोशिश गरे पनि उनी सम्पर्कमा आइनन्। तर, उनका वकिल राजेश कुमारको दाबी छ कि, यो सबै धोका र जालसाजी कामेश्वर सिंहको जमिन हडप्नका लागि गरिएको हो।
राजेश कुमारले भने, ‘कामेश्वर सिंहको घरमा लगभग चार दशक रहँदा दयानन्दले ५० देखि ५५ बिगाहा जमिन बेचिदिए। उनलाई पाइप लाइन बिछ्याउँदाको मुआब्जा पनि मिल्यो। बिहेसमेत त्यहीँबाट गरे।’

उनीविरुद्ध मुद्दा दर्ता गरेकी कन्हैयाकी आमाले अदालतमा बयान दिँदा आफ्नो छोराको टाउकोमा चोटको निशान भएको बताएकी थिइन्। तर, त्यस्तो निशान दयानन्दको शिरमा थिएन। त्यसलाई आमाले बलियो प्रमाण मानेकी थिइन्। वकिल राजेश कुमारका अनुसार दयानन्दले डीएनए जाँच गर्न पनि अस्वीकार गरेका थिए।
अदालतमा आफ्नै मृत्यूको प्रमाणपत्र पेश
दयानन्दको वास्तविक घर जमुई जिल्लाको एक गाउँमा पर्छ। त्यहीँका एक व्यक्तिले अदालतमा बयान दिने क्रममा दयानन्दलाई आफ्नो गाउँका प्रभु गोसाईंका तेस्रो छोरा भएको बताएका थिए। तर, यो घटनामा सबैभन्दा आश्चार्यलाग्दो त के थियो भने, अदालतमा दयानन्द गोसाईंको मृत्युको प्रमाणपत्र पेश गरिएको थियो।
प्रमाणपत्रअनुसार दयानन्द गोसाईंको मृत्यु सन् १९८१ मा नै भएको थियो। यो प्रमाण पत्र सन् २०१४ मा मात्र तयार गरिएको थियो। अदालतको आदेशमा प्रमाणपत्रको जाँच गराइएको थियो र नक्कली भएको प्रमाणित भएको थियो।
यो मामिला जिल्ला अदालतबाट पटना उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्चको आदेशमा यस मामिलामा फेरि सुनुवाइ सुरु भयो। दुवैतर्फको तर्क सुनेपछि नालन्दा जिल्ला अदालतले दयानन्द गासाईंलाई जालसाजी गरेको प्रमाणित गरेर तीन वर्षको काराबास सजाय सुनाएको छ। साथै, उनलाई जरिवाना तिराउने फैसला पनि भएको छ।
नालन्दाका जिल्ला अभियोजन पदाधिकारी राजेशकुमार पाठकले भनेका छन्, ‘सन् २०१४ देखि नै अभियोजनका लागि डीएनए जाँच गराउन माग गरिएको थियो, तर दयानन्दले अहिले सन् २०२२ मा अदालतमै लिखित आवेदन दिएर जाँच गराउन अस्वीकार गरे। साथै अभियुक्तले यो पनि बताउन सकेनन् कि सन् १९७७ देखि १९८१ को बीचमा उनी कहाँ बसेका थिए।’
अदालतको फैसलाबारे कामेश्वर सिंहकी छोरी विद्याले भनिन्, ‘यो फैसलाले जसलाई खुसी दिन्थ्यो, उनीहरूको त मृत्यु भइसक्यो। आमाको इच्छा थियो कि, यो मामिलाको पर्दाफास होस्। हामीले साँचो कुरा बाहिर ल्याउने प्रयास गरेका हौँ। कुनै प्रकारको लोभ राखेका छैनौँ।’
उता अदालतको फैसलापछि दयानन्द गोसाईंले स्थानीय मिडियासँग कुराकानी गर्दै भनेका छन्, ‘सम्पत्तिका लागि यो सबै भइरहेको छ। बहिनीको नजर सम्पत्तिमा छ, यसकारण उनी यसो गरिरहेकी छिन्।’
बीबीसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।