काठमाडौं– नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा 'हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी' नारासहित आयोजना भइरहेको हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ।
अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाऊन्डेसन प्रमुख कर्पोरेट साझेदार बनेको छ। यो अभियान थालनी भएको तेश्रो वर्ष हो।
यो अभियानलाई अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान मानिन्छ। पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य रहेको बताइएको छ।
सगरमाथा, लोत्से, मनास्लु हिमाल र कञ्चनजंघा गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागी छन्।
चैत २२ देखि जेठ ५ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ हजार किलो फोहोर संकलन हुने अनुमान गरिएको छ।
संकलन भएका सबै फोहोर उचित व्यवस्थापनका लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिने छ। प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ।
कोका–कोलाले यो अभियानमा संलग्न सदस्यहरुलाई हाइड्रेसन र रिफ्रेसमेन्टको लागि पेय पदार्थहरु पनि उपलब्ध गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।