काठमाडौं– सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरेको छ।
'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरेको हो।
कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रूपमा लैजानुपर्ने धारणा राखे।
बैंकले आफ्ना ग्राहकहरूलाई क्यूआर कोडको प्रयोग गरी विद्युतीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरूमा क्यूआर कोडलाई अझ सशक्त रूपमा देशव्यापी लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।