काठमाडौं- स्थानीय तहको आगामी निर्वाचनमा लागू गरिने आचारसंहिताप्रतिको प्रतिबद्धतामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको छ।
मंगलबार निर्वाचन आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलहरुका तर्फबाट आचारसंहिताप्रतिको प्रतिबद्धता खोज्नका लागि बैठक बोलाएको थियो। तर बैठकमा तनाव उत्पन्न भयो।
बैठकमा उपस्थित कतिपय दलका प्रतिनिधिहरुले आचारसंहिताप्रति आफूहरुले धारणा राख्नुपर्ने बताएपछि होहल्ला र नाराबाजी भएको थियो। उनीहरुले आयोग सत्ता गठबन्धनले भने अनुसार अघि बढेको आरोप लगाउँदै नाराबाजी गरेका थिए।
नाराबाजी हुन थालेपछि बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रतिनिधिहरु बैठक स्थलबाट प्रतिबद्धतामा हस्ताक्षर नगरी बाहिरिएका छन्।
नेकपा एमालेको निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले आफूहरुले आचारसंहिताप्रतिको प्रतिबद्धतामा हस्ताक्षर नगरी बाहिरिएको जानकारी दिए। बैठकमा एमालेका तर्फबाट कानुन विभागका प्रमुख रमश बडाल र निर्वाचन विभागका उपप्रमुख आचार्य सहभागी भएका थिए।
'बैठकमा तनावको अवस्था बनेकाले हामीले यस्तो बेलामा हस्ताक्षर गर्न उपयुक्त ठानेनौं' आचार्यले नेपाल लाइभसँग भने।
आयोगले बोलाएको बैठकमा देखिएको अवस्थाबाट आफूहरु अत्यन्तै गम्भीर भएको उनले बताए। निर्वाचन आयोगका आयुक्तहरु स्वयं आचारसंहिताप्रति प्रतिवद्ध हो कि होइन प्रश्न उठाउनु पर्ने अवस्था बनेको आचार्यले बताए।
'निर्वाचन आचारसंहिताप्रति नेकपा एमाले प्रतिबद्ध छ। तर आयुक्त ज्युहरु स्वयं आचारसंहिताप्रति प्रतिबद्ध हो कि होइन प्रश्न उठाउनु पर्ने अवस्था आयो' आचार्यले भने।
निर्वाचन आयोगसँग आफ्ना कुरा राखेर प्रतिबद्धता व्यक्त गर्न चाहेको भए पनि त्यो वातावरण नबनेको उनको दाबी छ। 'हामी हाम्रो कुरा राखेर प्रतिबद्धता व्यक्त गर्न चाहन्थौं तर त्यो वातावरण बनेन' आचार्यले भने, 'साना दलहरुको बिरोध र नारावाजी जारी रहेको थियो त्यस्तो तनाबको बीचमा हस्ताक्षर गर्न उपयुक्त ठानेनौं।'
आचार्यले एमाले निर्वाचन आचारसंहितामा प्रतिबद्ध रहेको बताउँदै आफूहरुको कुरा सुन्नु पर्ने बताए। उनले शान्त वातावरणमा हुने छलफलमा आफ्ना कुरा राखेर प्रतिबद्धता जनाउने बताए।
'हामी आचारसंहिताप्रति प्रतिवद्ध छौं तर हाम्रा कुरा पनि सुन्नु पर्छ' उनले भने, 'शान्त वातावरणमा छलफल भयो भने हामी आफ्ना कुरा राखेर प्रतिवद्धता जनाएर आउँछौं।'
तर निर्वाचन आयोगले भने मंगलबारको बैठकमा बोल्ने कार्यक्रम नै नराखिएको बताएको छ। 'बोलाइएको पत्र दलका प्रतिनिधिहरुले हेर्नुपर्यो। किनभने कार्यक्रम विभिन्न किसिमका हुन्छन्। कहिले छलफलका लागि बोलाइन्छ। कहिले अन्तर्क्रियाका लागि बोलाइन्छ। कहिले गोष्ठीका लागि बोलाइन्छ। कहिले तालिमका लागि बोलाइन्छ', आयोग प्रवक्ता शालिग्राम पौडेलले भने, 'आज आयोगले तयार गरेको आचारसंहिताप्रति प्रतिबद्धतामा हस्ताक्षर गर्न बोलाइएको हो।'
यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो। त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता खोजेको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।