काठमाडौं- निर्वाचन आयोगले आचार संहितामाथि दलहरुको प्रतिवद्धताका लागि बोलाएको सर्वदलीय बैठकमा नाराबाजी भएको छ।
मंगलबार निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी केही राजनीतिक दलहरुले नाराबाजी गरेपछि बैठक प्रभावित भएको छ।
सत्ता गठबन्धनका दलहरुको दबाबमा आचार संहिता बनाइएको र उनीहरुकै दबाबमा प्रतिबद्धताका लागि सही गर्न लगाएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन्।
आचार संहितालाई विभिन्न राजनीतिक दलहरुसँगको छलफलपछि पूर्णता दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका थिए। तर उनीहरुले भने गठबन्धनका दलहरुको दबाबमा आचार संहिता बनाएको आरोप लगाएका हुन्।
छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको थियो। छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगले जनाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।