काठमाडौं- निर्वाचन आचारसंहितामाथि छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा तनावको स्थिति सिर्जना भएको छ। मंगलबार आयोग कार्यालयमा भएको छलफलका क्रममा सहभागी साना दलका नेताहरु आक्रोशित भएका हुन्।
निर्वाचन आयोगका तर्फबाट आचारसंहितामा हस्ताक्षर गरेर जान भनेपछि कतिपय दलका नेताहरु आक्रोशित भएका थिए।आचारसंहिता चाँडै लागू हुने आयोगको भनाइ छ।
आयोगको तर्फबाट हस्ताक्षर गरेर जान भनिएपछि बैठकमा हो-हल्ला भएको थियो भने झन्डैझन्डै झडपको स्थिति सिर्जना भएको थियो। नाराबाजी भएपछि बैठक समेत प्रभावित बन्यो। आयोगप्रति कैयौं नेताहरुले तीखा आरोप पनि लगाएका छन्। 'आयोग सरकारको कार्यकर्ता हो?,' हो-हल्लाबीच एक नेताले भने।
'आचारसंहितामा हस्ताक्षर गर्न मात्रै हामीलाई बोलाइयो। त्यो कसरी बन्यो, त्यसको छलफलमा भने बोलाइएन। त्यतिबेला समावेश नगरिएकोमा हामीले विरोध जनाएका हौं,' सहभागी एक नेताले भने।
उनले आचारसंहिता दलहरुले मान्ने र निर्वाचनमा भाग लिने पनि दलहरुले नै भएको हुँदा आफूहरुले हस्ताक्षर गर्ने निर्वाचन आचारसंहितामा के छ भनेर छलफल गर्न पाउनुपर्ने माग गरे। 'हामीलाई बोल्न दिनुस् न त। यहाँ बोलाएर बोल्नचाहिँ नदिने?,' अर्का नेताको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।