काठमाडौं– स्थानीय तहको आगामी निर्वाचनमा लागू गरिने आचारसंहिताप्रति प्रतिबद्धता व्यक्त गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा तनावको स्थिति सिर्जना भएको छ। उपस्थित कतिपय दलका प्रतिनिधिहरुले आचारसंहिताप्रति आफूहरुले धारणा राख्नुपर्ने बताएपछि असझदारी उत्पन्न भएको थियो।
आयोगको तर्फबाट दलका प्रतिनिधिहरुलाई हस्ताक्षर गरेर जान भनिएपछि बैठकमा हो-हल्ला भएको थियो भने झन्डैझन्डै झडपको स्थिति सिर्जना भएको थियो। नाराबाजी भएपछि बैठक समेत प्रभावित बन्यो।
'आचारसंहितामा हस्ताक्षर गर्न मात्रै हामीलाई बोलाइयो। त्यो कसरी बन्यो, त्यसको छलफलमा भने बोलाइएन। त्यतिबेला समावेश नगरिएकोमा हामीले विरोध जनाएका हौँ', सहभागी एक नेताको भनाइ थियो।
तर निर्वाचन आयोगले भने आज (मंगलबार)को बैठकमा बोल्ने कार्यक्रम नै नराखिएको बताएको छ। 'बोलाइएको पत्र दलका प्रतिनिधिहरुले हेर्नुपर्यो। किनभने कार्यक्रम विभिन्न किसिमका हुन्छन्। कहिले छलफलका लागि बोलाइन्छ। कहिले अन्तर्क्रियाका लागि बोलाइन्छ। कहिले गोष्ठीका लागि बोलाइन्छ। कहिले तालिमका लागि बोलाइन्छ', आयोग प्रवक्ता शालिग्राम पौडेलले भने, 'आज आयोगले तयार गरेको आचारसंहिताप्रति प्रतिबद्धतामा हस्ताक्षर गर्न बोलाइएको हो।'
उनले आचारसंहितालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने सिलसिलामा आसन्न स्थानीय तह निर्वाचन २०७९ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ दललाई आचारसंहितामा प्रतिबद्धता व्यक्त गर्ने प्रयोजनका लागि बोलाएको बताए।
उनले छिटो आचारसंहिता लगाउनुपर्यो, राम्रो बनाउनुपर्यो, कडा बनाउनुपर्यो भन्ने दलहरुकै धारणाका आधारमा बनेको आचारसंहिता भएको बताए। 'दलहरुले आचारसंहितामाथि बोल्ने कुरा भए पनि, त्यसका केही कमिकमजोरी भए पनि, आगामी दिनमा त्यसलाई सच्याउँदै पनि गइएला, तर आज बोल्ने कार्यक्रम भने थिएन्,' आयोगका प्रवक्ता पौडेलले भने।
तनावपछि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र अन्य आयुक्तहरुले आजको कार्यक्रमबारे ब्रिफिङ गरेपछि दलका प्रतिनिधिहरु हस्ताक्षर गर्दै बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।