काठमाडौं- स्थानीय तहको निर्वाचन २०७९ का लागि सोमबारदेखि मतपत्र छाप्न सुरु गरिने भएको छ। निर्वाचन आयोगको सोमबारको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यसका लागि आजै निर्णय गरिँदैछ।
'आयोगले १ लाख ८० हजार नमूना मतपत्र छापिसकेको छ। र, अब मतपत्र छाप्नका लागि आज आयोगले निर्णय गरेर पठाउँदैछ। हिजो नमूना छापियो। आजबाट मतपत्रको छपाइ सुरु हुन्छ', आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुनेछन्। सबैभन्दा कम १६ लहरका मतपत्र रोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ। जनक शिक्षा सामाग्री केन्द्रले मतपत्र छाप्दैछ।
पौडेलका अनुसार, ८ प्रतिशतदेखि २५ प्रतिशतसम्म थप मतपत्र छापिन्छ। 'साह्रै कम मतपत्र हुने र दुर्गम जिल्लामा बढी प्रतिशत छापिन्छ। किनभने त्यहाँ बिग्रिहाल्यो भने थप मतपत्र चाहिने अवस्था भयो भने ढुवानीले छापिएको मतपत्रभन्दा बढी मूल्य तिर्नुपर्ने स्थिति हुनसक्छ', उनले भने।
मनाङ, जुम्ला, हुम्ला जस्ता ठाउँहरुमा बढी प्रतिशत जगेडा राखिन्छ। नजिकका र धेरै मतपत्र आवश्यक पर्ने जिल्लामा कम प्रतिशत जगेडा राखेर मतपत्र छपाइ गरिन्छ।
'पहिला मतपत्र छापिने दुर्गमको हो। किनभने ढुवानीको हिसाबले दुर्गम जान धेरै दिन लाग्न सक्छ। पहिला दुर्गम स्थानको छाप्ने र पहिला पठाउने गरिन्छ। त्यसपछि सुगम ठाउँहरुका छापिन्छ', उनले भने, 'दुर्गमतिरको सुरुमा छाप्ने र सुगमतिर क्रमश: आउने रणनीति रहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।