काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएको छ।
संसद्मा आफू विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै फेरि चुनाव हुने घोषणा गरेका छन्।
प्रधानमन्त्री खानको सरकारविरुद्ध भोटिङ हुनुभन्दा पहिले नै उपसभामुखले अविश्वास प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरका थिए। संसद्को यो सत्र उपसभामुख कासिम खान सूरीको अध्यक्षतामा चलिरहेको थियो।
अविश्वास प्रस्ताव संविधानको अनुच्छेद ५ विपरीत रहेको भन्दै उपसभामुख सूरीले खारेज गरिदिएका हुन्।
उपसभामुखले आफूविरुद्धको प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्री खानले संसद् विघटनको सिफारिस गर्दै फेरि चुनाव हुने घोषणा गरेका हुन्।
'सभामुखले आफ्नो अधिकारको प्रयोग गर्दै प्रस्ताव खारेज गर्ने निर्णय गर्नुभएको छ। त्यसपछि मैले संसद् विघटन गर्न भनेर राष्ट्रपतिलाई सिफारिस गरेको छु,' खानले देशलाई सम्बोधन गर्दै भनेका छन्।
अब चुनाव हुने र देशका लागि को चाहिन्छ भन्ने पनि जनताले नै फैसला गर्ने खानको भनाइ छ। 'अब चुनाव हुनेछ। र, जनताले फैसला गर्नेछन् कि उनीहरु कसलाई चाहन्छन्,' खानले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।